आज कुलमान राक्सिराङ आउँदै, चेपाङ गाउँमा स्वागतको तयारी

साझाकुरा
२०८१ चैत्र १०, सोमबार ११:२९

हेटौंडा- उज्यालो नेपालका नायक भनेर चिनिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सोमबार राक्सिराङ आउने भएका छन् ।देशमा भइरहेको १८ घण्टासम्मको लोडसेडिङ हटाएका घिसिङलाई राक्सिराङमा भव्य स्वागतको तयारीसमेत भएको बताइएको छ । गाउँपालिका कार्यालयले बिशेष सम्मानका साथ घिसिङलाई चेपाङलाई बिजुली कार्यक्रमको शुभारम्भ गराउन राक्सिराङ निम्त्याएका हो । घिसिङले राक्सिराङ–९ खैराङमा रहेको ट्रान्समिटर सुचारु गराएर चेपाङलाई बिजुली कार्यक्रम सुरु गर्ने तयारी छ ।

घिसिङले विपन्न चेपाङ, तामाङ समुदायलाई निशुल्क मिटर वितरण गर्ने कार्यक्रम रहेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । अध्यक्ष मल्लले गाउँपालिकाले प्रतिष्ठाको रुपमा लिएर आव २०७६÷७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाएको स्मरण गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पूर्ण साथ दिएको उल्लेख गरे । योसँगै अब राक्सिराङको सबै वडामा विद्युतको पहँुच पुगेको अध्यक्ष मल्लले बताए ।

चेपाङ बाहुल्यक्षेत्रमा कुलमान पहिलोपटक आउन लागेका हुन् । संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेशका पूर्वराज्य मन्त्री सन्तबहादुर प्रजा, निवर्तमन बागमती प्रदेशसभा सदस्य ओम बहादुर ग्लानलगायत गाउँपालिका जनप्रतिनिधि सबै कुलमानको स्वागतका लागि कार्यक्रममा सहभागी हुने तयारी रहेको बताइएको छ । उनीहरुले सार्वजनिकरुपमै कुलमानको स्वागतमा सहभागी हुन आव्हान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*