चालू आर्थिक वर्षको ८ महिनामा ३३ प्रतिशत बजेट खर्च

साझाकुरा
२०८१ चैत्र ११, मंगलवार १३:४१

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको ८ महिनामा ३३ प्रतिशतमात्र बजेट खर्च गरेको छ । उपमहानगपालिकाले आर्थिक वर्ष ०८१÷८२ को साउनदेखि फागुनसम्म ३३ दशमलव ६५ प्रतिशतमात्र बजेट खर्च गरेको हो । आर्थिक वर्ष ०८१÷८२ का लागि उपमहानगरले संशोधनसहित २ अर्ब ७२ करोड रुपैयाँको बजेट पारित गरेको थियो । जसमध्ये ८५ करोड २ लाख ६७ हजार ७ सय ७७ रुपैयाँमात्र खर्च भएको हो । उपमहानगरको पुँजीगत खर्चभन्दा चालूखर्च अत्यधिक देखिएको छ । आठ महिनामा चालूखर्चतर्फ ७० करोड १२ लाख ५४ हजार अर्थात् ४१ दशमलव ८१ प्रतिशत खर्च भएको छ ।

तर, पुँजीगततर्फ खर्च १४ करोड ५० लाख ३९ हजार अर्थात् १७ दशमलब २८ प्रतिशत मात्र खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ भने ३९ लाख ७३ हजार अर्थात् ३९ दशमलब ७४ प्रतिशत खर्च भएको उपमहानगरपालिका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिएका छन् । उपमहानगरपालिकाले विभिन्न श्रोतबाट राजस्व संकलन गरेकोछ । प्रशासनिक दण्ड, जरिवाना र जफतबाट २० लाख रुपैयाँ, धरौटीबाट २० हजार, अन्य राजस्व स्रोतबाट २ लाख ५० हजार, तथा १ करोड ६३ लाख ९९ हजार ३ सय रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी, बेरुजुबाट ३ लाख, बैंकमौज्दातबाट १७ करोड ६० लाख तथा अन्य संस्थाबाट प्राप्त३ करोड ६० लाख रुपैयाँनगरपालिकाले राजश्व संकलन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*