बागमती प्रदेशसभाको बैठक चैत्र १९ गतेका लागि आव्हान

हेटौंडा-माघ २६ गते बसेर स्थगित भएको बागमती प्रदेशसभाको बैठक चैत १९ गतेका लागि आव्हान गरिएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले १९ गते दिउँसो १ बजेका लागि बैठक आव्हान गरेका हुन् । बैठकमा संसदमा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिएका छन् । संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेश गरी पारित गर्नुपर्ने भएकाले बैठक आव्हान गरिएको उनले बताए ।
यसअघि प्रदेशसभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशन अन्तरगत माघ २३ मा दुई, २४ मा एक र २६ मा दुईवटा बैठक सञ्चालन भएकाथिए ।बैठकमा विषयगत समितिमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पेश हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाबाट फिर्ता भई आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधनसहित प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ । संसद बैठक बोलाइएसँगै शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक चैत १३ र १४ गतेका लागि बोलाइएको छ । उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक चैत १७ र १८ गते बस्ने तयारी भएको छ । बैठकले संसदमा पेश हुने संशोधन विधेयकको प्रतिवेदनलाई अन्तिम रुप दिने सचिवालयले जनाएको छ ।