हेटौंडा स्कूल अफ म्यानेजमेन्टका विद्यार्थीलाई १० लाख बीउ पुँजी

साझाकुरा
२०८१ चैत्र १२, बुधबार १२:१७

हेटौंडा- हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले स्नातक तह अध्ययनरत विद्यार्थीलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच उद्यम तथा व्यवसायको प्रवद्र्धन गर्ने कम्पनिको रुपमा सञ्चालित द एड मेकर्सलाई कुल १० लाख रुपैयाँ बीउ पुँजी मध्ये दोस्रो किस्ता वापत ४ लाख रुपैयाँ बीउ पुँजी हस्तान्तरण गरेको हो ।म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले द एड मेकर्सका सञ्चालक वाणिज्य संकायमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थी सक्षम ज्ञवालीलाई ४ लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि ज्ञवालीलाई म्यानेजमेन्टले बीउ पुँजी हस्तान्तरण गरेको थियो । एक वर्षअघि एक लाख ५० हजार रुपैयाँ बीउ पुँजी हस्तान्तरण गरेको म्यानेजमेन्टले २ महिनापछि थप ४ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्नेछ ।

विश्वविद्यालय अनुदान आयोग (युजीसी) मार्फत प्राप्त बीउ पुँजी विद्यार्थीलाई हस्तान्तरण गरिएको प्रिन्सीपल पुरनबहादुर जोशीले जानकारी दिएको छ । विद्यार्थीलाई उद्यमशीलता र नवप्रवर्तनमा प्रेरित गर्न म्यानेजमेन्टले ओपन इनोभेसन हव नै स्थापना गरेर सञ्चालन गरिरहेको छ । पहिलो किस्ता वापतको एक लाख ५० हजार रुपैयाँ ज्ञवालीले फिर्ता गरिसकेको छन् ।उद्यम तथा व्यवसायको विज्ञापन निर्माणको काम गर्ने द एड मेकरले १ सय भन्दा बढी सेवाग्राहीलाई सेवा गरिसकेको र अहिले पनि २० वटा नियमित सेवाग्राही रहेको ज्ञवाली बताउँछन् । ज्ञवालीले अब प्राप्त हुने रकम लगानी गर्ने क्षेत्रका बारेमा पनि बताए । हालसम्म १२ लाख ७६ हजार रुपैयाँ लगानी भइसकेको कम्पनिका लागि प्राप्त बीउ पुँजीले व्यवसाय विस्तार गर्न, कम्पनिको कार्यालय व्यवस्थापनमा पनि सहयोग पुग्ने ज्ञवालीको
भनाइ छ ।

हेटौँडा स्कूल अफ म्यानेजमेन्टको रणनीति तथा नवप्रवर्तन विभागका प्रमुख दिपेश खनालले सक्षम जस्तै अरु पनि विद्यार्थीहरु व्यवसाय, उद्यममा क्रियाशील रहेको जानकारी दिए। म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले महत्वाकांक्षी परियोजनाको रुपमा विद्यार्थीलाई उद्यमशीलता र नवप्रवर्तनमा जोडी बीउ पुँजी दिने काम गरिएको बताए । विश्वविद्यालय अनुदान आयोगले निजी शैक्षिक संस्थामार्फत बीउ पुँजी दिने व्यवस्था नहुँदा पनि आफूहरुले माग गरेर विद्यार्थीलाई वितरणको व्यवस्था मिलाएको बताए । विश्वविद्यालय अनुदान आयोगले विद्यार्थीलाई बीउ पुँजी वितरण गर्न म्यानेजमेन्टलाई पहिलो किस्तावापत १७ लाख १० हजार रुपैयाँ दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*