एक दशकमा १२७ चेपाङले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाए

हेटौंडा-दश वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट १२७ जना चेपाङ समुदायका नागरिकले ज्यान गुमाएका छन् । यो तथ्यांक हेर्दा सरकारले जंगली जनावर ब्यवस्थापन गर्न कन्जुस्याईं गरेको देखिन्छ । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०÷७१ यता नेपालमा जंगली जनावरको आक्रमणबाट १२७ जना अतिसीमान्तकृत चेपाङ समुदायका व्यक्तिले ज्यान गुमाएका हुन् । प्रत्येक वर्ष ५ जना भन्दा बढी १९ जनासम्म चेपाङले ज्यान गुमाएको आयोगको तथ्यांकले देखाएको छ । सबैभन्दा कम २०७२÷७३ र २०७४÷७५ मा ५ जनाले ज्यान गुमाएका थिए भने २०७८÷७९ मा १९ जना चेपाङले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाएको आयोगका मानव अधिकार अधिकृत किरण बरामुले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७०÷७१ मा ९ जना, २०७१÷७२ मा ८ जना, २०७२÷७३ र २०७४÷७५ मा ५ जना, २०७३÷७४ मा १३ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७५÷७६ मा १२ जना, २०७६÷७७ मा ९ जना, २०७७÷७८ मा १२ जना, २०७८÷७९ मा १९ जना चेपाङ समुदायका व्यक्तिले जनावरको आक्रमणबाट ज्यान गुमाएकाछन् । यस्तै २०७९÷८० मा १५ जना, २०८०÷८१ मा ११ जना र चालु आर्थिक वर्षको हालसम्म ९ जनाले ज्यान गुमाएको बरामुले जानकारी दिए ।
ज्यान गुमाउने १२७ चेपाङ समुदायका व्यक्तिमध्ये ३६ महिला र ९१ पुरुष रहेका छन् । उनीहरुमध्ये बाघको आक्रमणबाट ४० जना, हात्तीको आक्रमणबाट २८ जना र गैंडाको आक्रमणबाट ५२ जनाले ज्यान गुमाएको तथ्यांकले देखाएको छ । गोही र बँदेलको आक्रमणबाट ३÷३ जना रगौरीगाईको आक्रमणबाट एकजनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमध्ये माडीक्षेत्रका मात्रै २९ जना रहेको पाइएको छ । राष्ट्रिय निकुञ्ज, आरक्षका जनावरको ब्यवस्थापन गर्ने कार्यमा सरकारले गंभीरतापूर्वक चासो देखाउनु पर्ने अवस्था छ ।
चेपाङ समुदायको बसोबास वनजंगल नजिकै ऐलानी जग्गामा हुँदै आएकोले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाउनेको संख्यामा बृद्धि भैरहेको आयोगका मानवअधिकार अधिकृत बरामुले जानकारी दिए । ‘विकटमा बसोबास गर्न बाध्य भएकाहरु जंगल छेवैमा बस्नुपरेको छ । केहीले खानीजन्य उद्योगले पनि बसाइँसराई गराएको छ’, उनले भने, ‘असुरक्षित बसोबसका कारण उनीहरुले ज्यान गुमाउनुपर्ने बाध्यात्मक परिस्थितिरहेको छ ।’ विकासको मूलप्रवाहमा समेटिन नसकेकै कारण चेपाङ समुदायको बसोबास जंगल छेउमा बढी छ ।
यस्तै कारणले पनि राष्ट्रिय निकुञ्ज र चेपाङ समुदायको द्वन्द्व निरन्तर चल्दै आइरहेको उनले बताए । ऐलानी जग्गामा बस्न बाध्य उनीहरुले जीवजन्तुले पु¥याएको मानवीय तथा भौतिक क्षतिको क्षतिपूर्ती समेत नपाउने अवस्था रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । नेपालमा मकवानपुर, चितवन, धादिङ रगोरखा जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ । यी ४ जिल्लामा बिशेषगरी खोला र जंगल छेउमा उनीहरुको बसोबास रहने गरेको पाइएको छ ।
२०७८ को राष्ट्रिय जनगणना अनुसार चेपाङको जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ । चेपाङको परम्परागत धर्म प्राकृतिक धर्म हो । चेपाङहरुले सिमिभूमिदेखि रुख तथा थानीलाई पूजा गर्छन् ।खेतीबाली लगाउनुभन्दा अगावै भुइँ झ्यासा (भूमिपूजा) गर्ने गरिन्छ । यो पूजा प्रायः माघ र फागुनमा गरिन्छ । बाली पाकिसकेपछि सबैभन्दा पहिले नजिकको थानीभूमिलाई चढाइ सकेपछि मात्र आफूहरु खान्छन् ।मकवानपुरको राक्सिराङमा सिमेन्ट उद्योगले निकालेको ढुंगा उत्खननबाट ४० घरधुरी चेपाङ सुकुमबासी भइरहेका छन् ।राक्सिराङ–९ को तामाखानीको कारण पनि चेपाङ समुदाय समस्यामा छन् । नेपालमा करिब तीनसय घरधुरी चेपाङ विभिन्न उद्योग तथा खानीबाट विस्थापित हुने क्रममा रहेको बताइएको छ ।