मकवानपुरे पत्रकारितामा नयाँ पुस्ताः चुनौती, अवसर र तयारीबारे प्यानल छलफल

साझाकुरा
२०८१ चैत्र १४, शुक्रबार १०:५१

हेटौंडा- मकवानपुरमा नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र आवश्यक तयारीका विषयमा गहन छलफल भएको छ । स्वतन्त्र पत्रकार संघ, मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा प्यानल छलफल भएको हो । कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, युवा पत्रकार जमुना थिङ वक्ताका रुपमा उपस्थित रहेका थिए । छलफलमा वरिष्ठ पत्रकार विष्टले पत्रकारिताको विगत र वर्तमान अवस्था तुलना गर्दै नयाँ पुस्ताका पत्रकारका लागि चुनौतीभन्दा अवसर बढी रहेको बताए ।

विगतमा पत्रकारिता संघर्षपूर्ण भएपनि अनुशासनयुक्त रहेको तर, अहिले प्रविधिको विकास भएपनि सामग्रीको गुणस्तर र अनुशासनमा कमी देखिएको उनको बुझाई छ । उनले प्रविधिको प्रयोगसँगै पत्रकारिताको गति तीव्र भएपनि समाचारको गहिराइ र विश्वसनीयता खस्किरहेको बताए । यसैगरी सञ्चार रजिष्टार सापकोटाले इन्टरनेटको विकाससँगै अनलाइन सञ्चारमाध्यम बढ्दै गएपनि समाचारको गुणस्तरमा वृद्धि नभएको बताए । अहिले पत्रकारितामा खोज पत्रकारिता र गुणस्तरीय सामग्री निर्माण गर्ने संस्कारको विकास हुन नसकेको उनको भनाई छ ।

सञ्चार रजिष्ट्रार सापकोटाले सञ्चार माध्यमको आम्दानी खुम्चिंदै गएको र लगानी बढ्दै गएको उल्लेख गर्दै सञ्चार व्यवसायलाई टिकाउन आर्थिक सन्तुलन आवश्यक रहेको बताए । यस्तै महासंघका जिल्ला अध्यक्ष अधिकारीले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुन नहुने कुरामा जोड दिएका छन् । अहिले सरकार र कानुनी व्यवस्थाले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको तर, स्वतन्त्र पत्रकारिता कायम राख्न कानुनी सुरक्षा आवश्यक रहेको उनले बताए ।

उनले नयाँपुस्ताका पत्रकारले अनुसन्धानमूलक पत्रकारितालाई प्राथमिकता दिनुपर्ने र सामाजिक परिवर्तनका संवाहक बन्नुपर्ने बताए । यसैगरी युवा पत्रकार थिङले नयाँ पुस्ताले डिजिटल मिडियामा अवसर खोज्न सक्ने तर, सामग्रीको गहिराइ र पत्रकारिता आचारसंहिता पालना नगर्ने प्रवृत्तिले समस्या निम्त्याउने गरेको बताए । आजको पुस्ताले प्रविधि सजिलै आत्मसात गरेको तर, सामग्रीको खोजीमा मेहनत नगरेको उनको भनाई छ । उनले नयाँपुस्ताले सिर्जनात्मक पत्रकारिता, अनुसन्धान मूलक रिपोर्टिङ र सत्यतथ्यमा आधारित समाचार उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा सहभागी वक्ताहरुले मकवानपुरे पत्रकारितालाई थप प्रभावकारी बनाउन प्रशिक्षण, अनुसन्धानात्मक पत्रकारिता, डिजिटल प्लेटफर्मको सही उपयोग, नीति निर्माण र वित्तीय व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेका थिए । स्वतन्त्र पत्रकार संघ, मकवानपुरका सचिव बसन्त भण्डारीले सहजीकरण गरेको कार्यक्रमको समग्र विशेष टिप्पणी अग्रज पत्रकारराममणि दाहालले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*