समाजवादी मोर्चाको सभा, राजावादीको प्रदर्शनी

* पूर्वराजाप्रति आक्रामक * सरकारलाई खबरदारी * दुईको मृत्यु * काठमाडौंमा कर्फ्यू
साझाकुरा
२०८१ चैत्र १५, शनिबार ०७:३९

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा राजावादीले उच्छृङ्रुखल गतिविधि बढाइरहेका बेला संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरले शुक्रबार राजधानीमा वृहत् जनसभा गरे ।तीनकुने क्षेत्रमा राजावादीले उच्छृङ्खल प्रदर्शन र हिंसात्मक गतिविधि मच्चाइरहँदा भृकुटीमण्डपबाट गणतन्त्र पक्षधरले शान्तिपूर्ण रूपमा प्रतिवाद गरे ।राजधानीका विभिन्न ठाउँबाट ¥यालीसहित भृकुटीमण्डपमा जम्मा भएको सभालाई सम्बोधन गर्ने क्रममा शीर्ष नेताहरू राजसंस्थाप्रति आक्रामक रूपमा प्रस्तुत भए । सरकारको गतिविधिका कारणले समेत राजावादीले स्पेस पाएको भनेर सरकारलाई खबरदारी गरे ।

वृहत् जनसभाका नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधानसभाबाट संविधान जारी गर्नका लागि १० वर्षे सशस्त्र युद्ध (जनयुद्ध) को नेतृत्व गरेका प्रचण्डले राजावादीलाई ‘मण्डले’को संज्ञा दिए ।‘मण्डले अराजकताको पराकाष्ठा भएको छ । घरमा आगो लगाएका छन् मण्डलेहरुले, पुलिसमाथि आक्रमण गरेका छन्,’ सभालाई सम्बोधन गर्दै प्रचण्डले भने । राजावादीहरूले परिस्थिति उत्तेजित पार्न चाहिरहेको प्रचण्डको बुझाइ छ । ‘एक दुई जना मरुन् भन्ने चाहेका छन् । त्यो राजावादीहरूको चरित्र हो,’ प्रचण्डले भने ।

तर, आफूहरू शान्तिपूर्ण तरिकाबाट राजावादीको गतिविधि नियन्त्रण हुनुपर्छ भन्नेमा रहेको प्रचण्डले सुनाए । बरु सरकारले राजावादीको गतिविधि नियन्त्रणका लागि पर्याप्त पूर्वतयारी र अन्य कार्य नगरेको प्रचण्डको आरोप छ ।‘अहिले उल्टो–उल्टो काम हाम्रो प्रधानमन्त्रीले गर्नुको अर्थ उहाँ राजवादीसँग त मिल्या होइन भन्ने गम्भीर प्रश्न उठेको छ । भित्रभित्रै उहाँ हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो,’ प्रचण्डले प्रधानमन्त्री ओलीमाथि नै आशंका गरे ।

गणतन्त्रप्रति प्रधानमन्त्री ओलीको प्रतिबद्धता गणतन्त्र आउँदै गर्दा नरहेको प्रचण्डले स्मरण गरे । ‘बयलगाडामा चढेर गणतन्त्र आउँदैन भनेर ओलीले पहिले पनि भनेको हो,’ प्रचण्डले सम्झिए ।तथापि, गणतन्त्र प्राप्तिप्रति जनताको अवस्था परिवर्तन गर्नका लागि गर्नुपर्ने काममा कमी रहेको र यसले जनतामा निराशा जन्माएको प्रचण्डले स्वीकार गरे ।गणतन्त्रवादी दलहरूले जनअपेक्षाअनुरूप काम गर्न नसक्दा राजावादीहरूले टाउको उठाउन खोजेको उनको आशंका छ । ‘हामी गणतन्त्रवादीले जनताका आशा÷ अपेक्षाअनुरूप काम गर्न नसकेकै कारण इतिहासको कुडा–कर्कटमा पु¥याइएकाहरूले टाउको उठाएका हुन्,’ प्रचण्डको निचोड छ ।

‘हामी गम्भीर आत्मालोचना गर्दै गल्तीबाट शिक्षा लिएरजनताको पक्षमा लाग्छौँ,’ प्रचण्डले आत्मालोचना गरे । तथापि, राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिँदै प्रचण्डले विगतमा गरेका गल्तीको फल अहिले पूर्वराजा ज्ञानेन्द्रले भोगिरहेको बताए । थप गल्ती नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी दिए ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वंशको शासन फर्काउने सपना नदेख्न राजावादलाई आग्रह गरे । अन्यथा, राजावादी भन्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी छ ।

नेपालका अनुसार सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार गर्न सक्दैनन् । २४० वर्षको शाह वंशको शासन र १०४ वर्षको राणा शासनले नेपाली जनतालाई दास बनाएको उल्लेख गर्दै अध्यक्ष नेपालले अब नेपाली जनताले कसैको दासता स्वीकार नगर्ने बताए ।पूर्वराजा ज्ञानेन्द्रप्रति आक्रामक रुपमा प्रस्तुत भएका नेपालले सरकारलाई पनि खबरदारी गरे । ‘देशमा सबैतिर निराशा छ, मिटरव्याज पीडितको समस्या छ, सहकारी, सकुमवासीको समस्या छ, दलितहरूको त्यस्तै बिजोग छ । तर यसको अर्थ पूर्वराजा विकल्प हुन सक्दैनन्,’ उनले भने ।

सरकार जनताबाट टाढिएको र जनताको भावनालाई नबुझेकोले समेत राजावादीले स्पेस पाएको उनको भनाइ छ । सभामा अन्य वक्ताहरू पनि पूर्वराजाप्रति आक्रामक रुपमा प्रस्तुत भए भने जनताको अपेक्षा पूरा गर्नेतिर ख्याल गर्न सरकारलाई खबरदारी गरे ।२८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । तर पछिल्लो समय राजतन्त्र पक्षधर पुनः सल्बलाउन थालेका छन् । राजनीतिमा आउन मन भए पार्टी खोल्न वा कुनै पार्टीको नेतृत्व गरेर चुनाव लडेर बहुमत ल्याएर प्रधानमन्त्री वा राष्ट्रपति बन्न गणतन्त्रवादी दलहरुको सुझाव छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले राजावादीलाई नउचालिन आग्रह गरे । राजतन्त्र फर्किने सपना देखेर जनतालाई दुःख दिने काम भइरहे सह्य नहुने उनको चेतावनी छ ।‘विदेशीको षडयन्त्रमा केही तत्वले राजतन्त्रको कुरा गरेका छन्,’ उनले भने, ‘इतिहास फर्किँदैन । षडयन्त्र हुन्छन्, त्यसप्रति हामी सतर्क र खडा छौं । कुनै तत्व उचालिएर केही हुनेवाला छैन ।’नेपाली जनतालाई पूर्वराजा ज्ञानेन्द्र जस्तो प्रभुहरूको खाँचो नरहेको उनले बताए । ४ सय वर्ष पार गरेर गणतन्त्रमा आइपुगेको उल्लेख गर्दै उनले अगाडि भने, ‘सामन्तवादबाट लादिएर आएका हामीले ठूलो त्याग संघर्ष र बलिदानबाट वर्तमान व्यवस्था प्राप्त गरेका हौं । यसमा भएका गल्ती सुधार गर्ने हो । अगाडि बढेर जाने हो, पछाडि हट्ने होइन ।’

एक पत्रकारसहित दुई जनाको मृत्यु

दुर्गा प्रसाईको मुख्य नेतृत्वमा शुक्रबार काठमाडौंमा भएको राजावादीको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।२९ वर्षीय महर्जन राजावादीको प्रदर्शनमा सहभागी थिए । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।यसैगरी शुक्रवार दिउँसो राजावादीबाट आगजनी भएको घरसँगै पत्रकार सुरेश रजकको शव फेला परेको छ । शव पत्रकार रजकको पुष्टि भएको उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिए । रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए ।

काठमाडौंमा कर्फ्यु

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश जारीगरेको छ । प्रशासनको पछिल्लो सूचनाअनुसार कर्फ्र्युु शनिबार बिहान ७ बजेसम्म लागू गरिएको हो । यसअघि प्रशासनले शुक्रबार राति १० बजेसम्म कर्फ्यु लागू गरेकोमा स्थिति सहज भइनसकेकाले आदेश लम्ब्याइएको बताइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा भनिएको छ, ‘अवस्थाको विश्लेषण गर्दै यसअघि जारी भएको कर्फ्यु आदेशको निरन्तरता स्वरुप मिति २०८१।१२।

१५ गते रातीको १० बजेदेखि मिति २०८१।१२।१६ गते विहान ७ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र तोकिएको सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।’प्रशासनले बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

१७ जना पक्राउ

काठमाडौंको तीनकुने लगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पु¥याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।मिश्रसहित राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङ, स्वागत नेपाललाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

राजावादीका संयोजक सुवेदी नजरबन्दमा

राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नियन्त्रणमा राखेको छ । उनलाई आफ्नै निवासमा नियन्त्रणमा राखिएको प्रहरीका एक अधिकृतले जानकारी दिएका छन् । ती अधिकृतका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण प्रहरी कार्यालयमा नल्याइएको हो ।

तीनकुने घटनाको
सरकारद्वारा भत्र्सना,

घाइतेको उपचार गर्ने निर्णयसरकारले पूर्वराजाका समर्थकहरूले काठमाडौंको तीनकुनेमा घटाएको घटनाक्रमप्रति घोर भत्र्सना गरेको छ । शुक्रबार अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको सरकरका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने निर्णय भएको पनि उनले बताए । त्यस्तै, शुक्रबारको घटनामा घाइते भएकाहरूको उपचार व्यवस्था सरकारले नै मिलाउने निर्णय भएको पनि उनले जानकारी दिए । घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।
‘आगामी दिनमा यस्ता घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ,’ सूचना सञ्चार तथा प्रविधिमन्त्री समेत रहेका गुरुङले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*