मानवसेवा आश्रममा महायज्ञ सुरु, १० करोडको अक्षयकोष निर्माण गरिने

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–९ स्थित मानसेवा आश्रमको आयोजनामा आइतबारदेखि श्रीमद् भागवत सप्ताहज्ञानविज्ञान महायज्ञ सुरु भएको छ । मानवसेवा आश्रमको मुख्य कार्यालयमा आश्रमले १० करोड रुपैयाँको अक्षयकोष निर्माण गर्ने उद्देश्यले महायज्ञ सुरु गरेको हो । आइतबार बिहान त्रिवेणीधामबाट सुरु भएको कलाशयात्रा महायज्ञस्थल पुगेको थियो । महायज्ञको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले व्यक्तिगत २५ हजार रुपैयाँ हस्तान्तरण गरे । मुख्यमन्त्री लामाले प्रदेश सरकारले छलफल गरेर सकेसम्म अक्षयकोषका लागि अनुदान रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले एक करोड ५० लाख रुपैयाँ अनुदानस्वरुप अक्षयकोषका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गरिन् । हेटौंडा–४ स्थित हेटौंडा स्कुल अफम्यानेजमेन्टका संचालक पुरनबहादुर जोशीले ५ लाख रुपैयाँ हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । यसैगरी डा. कृष्ण धितालले ५ लाख ११ हजार एक सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।आश्रमको क्षमता अभिवृद्धि र आश्रम व्यवस्थापनलाई थप सहज बनाउन महायज्ञ गर्न लागिएको हो । महायज्ञबाट उठेको रकमबाट १० करोडको अक्षयकोष स्थापना गरिने बताइएको छ । २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको संकल्पलाई पूरा गर्नको लागि आधार तयार पार्न महायज्ञले सहयोग पु¥याउने विश्वास गरिएको छ ।
महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमबाट कथाप्रवचन भइरहेको छ । चैत्र १८ गतेदेखि २४ गतेसम्म प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जली योग समिति, जीवनविज्ञान, द आर्ट अफ लिभिङ, मोक्षपथ फाउण्डेशन लगायत अन्य संघसंस्थाको सहकार्यमा निःशुल्क योग शिविर सञ्चालन हुनेछ । त्यस्तै बिहान ८ बजेदेखि १० बजेसम्म मकवानपुरका सामुदायिक, संस्थागत विद्यालयमा अध्ययनरत् कक्षा १०, ११ र १२ का विद्यार्थीसँग मनको व्यवस्थापन, सकारात्मक सोच, मानवता प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया गरिने छ । प्रत्येक दिन साँझ ६ बजेदेखि ७ः३० बजेसम्म स्थानीय कलाकारको भजनकीर्तिन र ७ः३० बजेदेखि ९ः३० बजेसम्म राष्ट्रिय कलाकारको भजनकीर्तिनको कार्यक्रम रहेको छ ।
मानवसेवा आश्रमले मकवानपुरको हेटौंडाबाट सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभिष्ट राखी वि.सं. २०६९ साल भदौ १३ देखि सेवा शुभारम्भ गरेको हो । हेटौंडाबाट सेवा शुभारम्भ गरेको आश्रमले हालसम्म सात प्रदेशको २० जिल्लामा २६ वटा सेवाकेन्द्र बिस्तार गरी ७७ जिल्लामा रहेका सहयोगापेक्षी मानवको उद्दार गरी सेवाप्रदान गरिरहेको छ । घरभाडा लिएर सेवा शुभारम्भ गरेको आश्रम हेटौंडा–९ लामसुरेधाप तथा जिल्लावासीको मुठीदानको सहयोग र तीनै तहका सरकारको आंशिक सहयोगबाट भवन निर्माण भई भाडाको घरबाट आफ्नै भवनमा सेवा सञ्चालन भइरहेको छ ।
मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडा, चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ र यसै आर्थिक वर्षमा सुर्खेतपछि बुटवल, धनगढी, सर्लाहीसहित फेरि हेटौंडामा हुन लागेको यो महायज्ञ १० औँ महायज्ञ भएको आश्रमले जनाएको छ । मानवसेवा आश्रमको मुख्य कार्यालयले हालसम्म १८०२ जना उद्दार गरिसकेको छ भने हाल २४१ जना आश्रमको संरक्षणमा छन् । मुख्य कार्यालय हेटौंडाले ९२६ जनाको पारिवारिक पुनर्मिलन गरिसको आश्रमका प्रमुख रामजी अधिकारीले जानकारी दिएका छन् ।