उपाध्यक्ष कप भलिबलको उपाधि ५ नं. वडालाई

साझाकुरा
२०८१ चैत्र १८, मंगलवार ११:४७

हेटौंडा-मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा भएको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले जितेको छ ।सोमबार विहान भएको फाइनल खेलमा वडा नम्बर ३ लाई २५–१४, २३–२५, २५–१६, २५–२३ को सेटमा पराजित गरेको हो । घरेलुमैदानमा वडा नम्बर ३ लाई हराउँदै वडा नम्बर ५ ले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको वडा नम्बर ३ ले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

सेमीफाइनल खेलमा वडा ५ ले वडा २ लाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने वडा नम्बर ३ ले १० नम्बरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । ्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडी वडा ५ का धिरज लो घोषित भए भने उदयीमान खेलाडीमा वडा ४ का नमराज मोक्तान घोषित भए । त्यस्तै, उत्कृष्ट स्पाइकरमा वडा ३ का नवीन रिजाल, उत्कृष्ट डिफेन्डरमा वडा ५ का विजय तितुङ, उत्कृष्ट सेटरमा वडा ३ का बालचन्द्र मल्ल, उत्कृष्ट ब्लकरमा वडा ५ का वीरबहादुर वाईबा र उत्कृष्ट प्रशिक्षक वडा ५ का गोविन्द वाईबा घोषित भए ।

विधागत विजेतालाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । खेलकुद विकास समितिका संयोजक मोहन वाईबाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो । विजेता टोलीलाई उपाध्यक्ष मल्लले ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष छेकु लामा, वडा ३ का कार्यबाहक अध्यक्ष राममाया प्रजा, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख समीर जोशी, समाजसेवी नरेन्द्रलाल रिजाललगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*