घरेलु र लैङ्गिक न्यूनीकरणबारे सचेतना

हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० कुमलटारमा घरेलु हिंसा, सामाजिक विभेद तथा लैङ्गिकहिंसा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम भएको छ । बुधबार लालित्य सेवा प्रतिष्ठानको आयोजना तथा गाउँपालिकाको सहयोगमा कार्यक्रम भएको हो । प्रतिष्ठानका अध्यक्ष मुनाकुमारी पाठकको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष मुक्तानले घरपरिवार, समूदाय र समाजमा विभिन्नखाले हिंसा हुने गर्दछ तर, हिंसा कस्तो खालको हो, ती सम्पूर्ण हिंसाबारे जानकारी दिने उद्देश्यले सचेतना कार्यक्रम गरिएको बताए । हिंसापश्चात हुने त्यसको कानूनी उपचार के के छन् भन्ने बारे तालिमबाट प्रष्ट हुने उनले बताए ।
समाजमा हुने हिंसाका कानूनी उपचारहरु ती ठाउँमा बसेर अघि बढ्न सकिने अध्यक्ष मुक्तानले बताए । कानूनी पक्षबारे जानकारी लिएर गाउँठाउँमा हुने घटनामा यहाँहरुले पनि घटनाको प्रकृति हेरेर कानूनी उपचारको बाटो देखाउनुपर्ने उनले बताए । कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोन, गाउँपालिका महिला तथा बालबालिका शाखाप्रमुख रमिला सापकोटा, कार्यक्रमका प्रशिक्षक अधिवक्ता पम्फा पुरी, शाान्तिश्रृजना आधारभूत प्राविका अध्यक्ष कमल अर्याल, विद्यालयका प्रध्यानाध्यापक मोहनलाल शिवाकोटी, देवी प्राविका अध्यक्ष जनक लोप्चन लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा किशोरी र महिलाको सहभागिता रहेको थियो ।