आगलागीपीडित गोले परिवारलाई चैनपुर जेसीजको सहयोग

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका–४ मसिने चुवारपाखाका आगलागी पीडित परिवारलाई चैनपुर जेसीज मनहरीले खाद्यान्न सहयोग गरेको छ । वनबाट सल्केको डंढेलोले घरसहित खाद्यान्न, लत्ताकपडा र खानेकुरा जलेर नष्ट भएका गणेशबहादुर गोलेको परिवारलाई खाद्यान्न सहयोग गरेको हो । बुधबार गोलेको परिवारलाई ३ बोरा चामलसहित तरकारी, नुन, तेल, मसला, सावुन लगायत सामग्री सहयोग गरेको हो । कार्यक्रम संयोजक मिलन ढुंगानाको संयोजन एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका–४ का वडाअध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
डंढेलोका कारण घर जलेर नष्ट भएपछि छिमेकीको घरमा बस्न बाध्य भएको परिवारलाई तुरुन्तै खाद्यान्न सहयोग गरिएको अध्यक्ष ढकालले बताए । वडाअध्यक्ष थापाले आफ्नो वडाको आगलागी पीडितलाई सघाउ गरेकोमा जेसीजलाई धन्यवाद व्यक्त गरे । वनबाट सल्केको आगोले घर जलेर नष्ट भएपछि गोलेको ५ जनाको परिवार छिमेकमा आश्रय लिएर बस्न बाध्य रहेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पशुपतिनाथ मावि ब्यवस्थापन समितिका अध्यक्ष माधव गौतम, स्थानीय मानबहादुर थिङ, मंगलबहादुर मुक्तानलगायतको आतिथ्यता रहेको जेसीजका महासचिव सुरेश गौतमले जानकारी दिए । पशुपति माविका अध्यक्ष गौतमले आगलागीपीडित परिवारको विद्यार्थीलाई निःशुल्क अध्यापनको ब्यवस्थापनका साथै विद्यालय पोशाक र स्टेसनरी सामग्री सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा समुन्द्र फार्मेसी हेटौंडा–१९ ले आगलागीपीडितसहित स्थानीयवासीको निशुल्क स्वास्थ्यपरीक्षण गर्नुका साथै आवश्यक औषधि वितरण गरेको थियो ।