सीपलाई व्यवाहरमा उतार्न सके जीवन सफल : सह महामन्त्री डीना

साझाकुरा
२०८२ बैशाख ३, बुधबार १५:५३

 हेटौडा – नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले तालिम सिकेको प्रमाणपत्र बोकेरमात्र जीवन सफल नहुने बताएकी छन् । बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को सहयोगमा युवालक्षित सीप विकास तालिमअन्तर्गत् हेटौंडामा व्यूटिपार्लर तालिम उद्घाटन गर्दै उनले सीप सिकेर प्रमाणपत्रसंगै व्यवहारमा लागू गरे आयआर्जन बढेर जीवन सहज हुने बताएकी छन् ।

सीप सिकेपछि त्यसलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न प्रयोग गर्नैपर्छ, सहमहामन्त्री डीनाले भनीन् ‘ सिकेको सीपलाई व्यवहारमा उतार्न सकेमात्र तालिम सिक्नेको जीवन सुन्दर हुने र सरकारको लगानी सार्थक हुनेछ । ‘ सरकारले युवालक्षित तालिम कार्यक्रम सञ्चालनमा करोडौं खर्च गरेपनि त्यसबाट अपेक्षित नतिजा नआएकोमा चिन्ता व्यक्त गर्दै उनले तालिम नतिजामुखी बनाउन सम्बन्धित कार्यालय सक्रिय हुनुपर्नेमा जोड दिइन् ।

परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले सबैखाले तालिम लिने तर काम कुनै नगर्ने समस्या प्रवृत्तिकै रूपमा विकास भएकोले यो तालिमलाई त्यसरी नलिन सुझाव दिए । तालिम लिने र प्रयोगमा नल्याउनेहरूबाट सरकारी बजेटको दुरुपयोग भइरहेको भन्दै त्यस्तो नगर्न उनले सुझाए ।

कार्यक्रममा राष्ट्रिय बीमा बोर्डका अध्यक्ष दिनेश उपाध्याय, भूमि समस्या समाधान आयोग मकवानपुर सदस्य कविन सांगामी, परिषद्का अधिकृत सुदर्शन तिमल्सिना, प्रशिक्षक रिना गौतम , सावित्रीसिं ठकुरीलगाएत सहभागी थिए । ३९० घण्टे तालिममा हेटौंडा क्षेत्रका २० जना प्रक्षिक्षार्थीको सहभागीता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*