एसी र इन्भर्टर सहयोग गर्ने तोकआदेशको पत्र भाइरल युवा प्रोत्साहित गर्न निवेदन तोक लगाएको होः नगरप्रमुख

हेटौंडा- हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले आफैंले उद्घाटन गरेको सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने तोकआदेशको चौतर्फी विरोध भएको छ ।हेटौंडा–४ शितलमहल चोकमा हालै संचालनमा आएको दी नाइन्टिन सैलुनलाई एयर कण्डिसनर (एसी) र इन्भर्टर अनुदान दिने मेयरको तोकादेशसहितको पत्र भाइरल भएको छ । उपमहानगरप्रमुख लामाले केही समयअघि उद्घाटन गरेको शैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने प्रतिबद्धता गरेकी थिइन् । सोहीअनुसार सैलुनका सञ्चालक सुसन घलानले वैशाख ३ गते उपमहानगरपालिकालाई लिखित निवेदन पेश गरेका थिए ।
घलानले शैलुन उद्घाटनका क्रममा मेयरले एसी जडानका लागि सहयोग गर्ने भनी गरेको प्रतिबद्धता स्मरण गराउँदै निवेदनमा भनेका छन्, ‘हाल गर्मीयाम अत्यधिक बढेकाले र हाम्रो सैलुनमा ग्राहकको भिड बढिरहेकाले आरामदायक सेवा दिन अत्यावश्यकरुपमा एक थान एसीको आवश्यकता परेको छ । साथै हालसालै हेटौंडामा लोडसेडिङ तथा अनियमित विद्युत आपूर्तिका कारण सैलुनको सेवा अवरुद्ध हुने अवस्था आउँछ । ग्राहकको सेवा गुणस्तरीय बनाउन इन्भर्टरको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण भएको छ । अतः हाम्रो सैलुनमा एसी तथा इन्भर्टर जडानको लागि तपाईंको सहयोग र समर्थनको अपेक्षा गर्दै यो निवेदन पेश गरेका छौं । तपाईंको सहयोगले हामीलाई हाम्रो प्रयासलाई अझ सफल र प्रेरणादायी बनाउनेछ ।’
नगरप्रमुख लामाले पनि आफूले उद्घाटन कार्यक्रममा बोल्नेक्रममा सहयोगको प्रतिवद्धता गरेको स्वीकार गरिन् । ‘स्नातक पढेका युवा मिलेर खोलेको सैलुनको उद्घाटनमा गएको थिएँ । धेरै युवा देशमा अवसर भएन भनेर विदेशतिर गइरहेको बेलामा पढेका युवाले कपाल काटिरहेको देख्दा मलाई खुशी लाग्यो । ऐना, काइँयो के चाहिन्छ म सहयोग गर्छु भनेको थिएँ । ती सामान किनिसकेका रहेछन् । जेनतेन ऋण लिएर खोल्यौं, एसी चाहिएको छ अब भने । सैलुन निकै गर्मी पनि थियो । मैले मिलेछ भने एसीको लागि सहयोग गर्छु भनेको थिएँ,’ लामाले भनिन्, ‘त्यही कुरा सम्झिएर ती भाइहरु निवेदन लिएर आएछन् । मैले तोक लगाइदिएको छु ।’
नगरप्रमुख लामाले आफूले युवालाई प्रोत्साहन गर्न निवेदनमा तोक लगाइदिएको बताइन् । ‘निवेदनमा तोक लगाउँदैमा उनीहरुले पाइहाल्ने भन्ने होइन । त्यसका प्रक्रिया हुन्छन् । विभिन्न शाखाले स्वीकृत गर्नुपर्छ । म मेयरले तोक लगाउँदैमा पाइहाल्ने कुरा त होइन नि । ममाथि आशा राखेर आएका युवालाई खिन्न बनाउन भएन नि त,’ उनले भनिन्, ‘देशमै केही गर्छु भनेर तम्सिएका पढेलेखेका युवाको निवेदनमा तोक लगाएर मैले अपराध गरेँ त ?’ उनले यस्तो सहयोग माग गरेर धेरै निवेदन आउने गरेको बताइन् ।आवश्यक पर्ने ठाउँमा निर्देशिका, कार्यविधिले भेटेसम्म सहयोग गर्ने गरिएको बताइन् ।
निवेदनमा संचालकले माग गरेअनुसारको सामग्री दिन नगरप्रमुख लामाले आर्थिक प्रशासन शाखालाई तोक लगाएर आदेश गर्छिन् । मेयर लामाको तोकादेश सहितको निवेदन आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ सापकोटा समक्ष पेश गर्छन् । महाशाखाप्रमुख सापकोटाले पनि तोकसहित उपमहानगरको मर्मतसंभार इकाइमा कार्यरत मेकानिक्स (सहायक चौथो) पुरुषोत्तमकुमार अधिकारीलाई आदेश गर्छन् । महाशाखाप्रमुख सापकोटाले माग भएको सामग्रीको लागत अनुमान गरेर दिनु भनी बैशाख ३ गते नै आदेश गर्छन् । यो पछिका प्रक्रिया भने उपमहानगरपालिकाले अघि बढाउने गरी सहायक चौथो अधिकारीलाई पत्र पठाएको थियो ।
यो अवस्थासम्मको प्रक्रिया पूरा गरेको पत्र एकाएक वैशाख ४ गते बिहीबार बिहानबाट सामाजिक सञ्जालमा भाइरल भएको थियो । यता उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले कार्यलयबाट तोकआदेशमा धेरै काम हुने र भइरहेको बताउँदै यसलाई सामान्य लिनुपर्ने धारणा राखे । उपमहानगरबाट सैलुनलाई ‘ल्याब बनाउने’ योजना भएर एसी र इन्भर्टर सहयोग गर्न खोजिएको बारे आफूले जानकारी पाएको उनको भनाइ छ । ‘नयाँ ढंगको व्यवस्थितरुपमा व्यवसाय सञ्चालन गर्ने प्रयासमा रहेका युवालाई प्रोत्साहन गर्ने उपमहानगरपालिकाको कार्यक्रम अन्तर्गत यो विषय अघि बढाइएको हो’ उनले बताए ।
हेटौंडा उपमहानगरले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेको छ । ‘नगरप्रमुखले एसी जोड्न निर्देशन दिएको’ भन्ने समाचार पूर्णतः तथ्यहिन रहेको हेटौंडा उपमहानगरले जनाएको छ । उपमहानगरमा प्राप्त निवेदनलाई नियमअनुसार दर्ता गरी सम्बोधनको प्रक्रिया मात्र अगाडि बढाइएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।सञ्चारमाध्यममा आएझैँ व्यक्तिगत लाभको लागि कुनै बजेट विनियोजन नगरिएको स्पष्ट पारिएको छ ।
उपमहानगरका प्रवक्ता सविन न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा आवश्यकता, औचित्य र कानुनी प्रक्रियाको आधारमा मात्र मागको सम्बोधन गरिने उल्लेख गरिएको छ । हरेक निर्णय सार्वजनिक हित, पारदर्शीता र विधिसम्मतरुपमा लिइने प्रवक्ता न्यौपानेले बताए । युवाले उद्यमशीलता तथा रोजगारी प्रवद्र्धनको लागि सञ्चालन गरेका व्यवसायलाई कानुनी र प्रक्रियागत मापदण्डभित्र रहेर प्रोत्साहन गर्ने उपमहानगरको नीति रहेको उल्लेख गरिएको छ ।