राक्सिराङ गाउँपालिकाको भवन निर्माणकार्य अन्तिम चरणमा

साझाकुरा
२०८२ बैशाख ५, शुक्रबार १२:४६

हेटौंडा- मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको भवन निर्माणकार्य अन्तिमचरणमा पुगेको छ । जिल्लाकै दुर्गमभेगमा रहेको राक्सिराङको ४३ कोठे कार्यालय भवनको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी भइसकेको हो ।आठ वर्षअघि २०७३ सालमा तत्कालीन स्वास्थ्यचौकीको भवनमा गाउँपालिकाको प्रशासनिक कार्यालय स्थापना भएको थियो । त्यसयता लगातार सोही भवनबाट कार्यसम्पादन हुँदै आएकामा अब नयाँ भवनबाट छिट्टै सेवा दिने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् । राक्सिराङ गाउँपालिका ५ चैनपुरमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणाधीन छ । निर्माणाधीन तीनतले प्रशासनिक भवनमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत कार्यालयसहित सुविधासम्पन्न हल र अन्य विभिन्न शाखा प्रशाखाहरु समेत सञ्चालन गर्नेगरी निर्माण गरिएको हो ।

अहिले भवनको आन्तरिक डेकोरेसनका कामअन्तर्गत टायल बिछ्याउने कार्य भइरहेको छ । २०७८ साल असाढ १४ गते जयमाता इन्जिनियरिङ कन्ट्रक्सन प्रालिसँग भएको सम्झौता बमोजिम भवन निर्माणको कामले अन्तिमरुप ग्रहण गरिरहेको गाउँपालिका योजना शाखाप्रमुख चुननारायण श्रेष्ठले बताए । मूल्यअभिवृद्धि करसमेतगरी कूल ६ करोड १७ लाख ४३ हजार १०१ रुपैयाँ लागतमा कन्ट्रक्सनले ठेक्का लिएको हो । अघिल्लो कार्यकालमै काम सकाउने गरी भवन निर्माणको काम अघि बढाएको भए पनि जग्गा प्राप्तिका लागि समय लागेका कारण ढिलाई भएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।

उनले सरकारी स्वामित्वमा रहेको जग्गा र तत्कालीन जिल्ला विकास समितिको स्वामित्वमा रहेको जग्गालाई पालिका मातहतमा ल्याउनका लागि समय लागेकालेनिर्माणकार्यमा बिलम्ब भएको जानकारी दिए । आफ्नो दोस्रो कार्यकालको अन्त्यतिर भएपनि भवन निर्माण सम्पन्न हुन लागेको उल्लेख गर्दै अध्यक्ष मल्लले आफ्नै कार्यकालमा ठुलो भौतिक संरचना निर्माण हुँदा निकै खुशी लागेको बताए । राक्सीराङ गाउँपालिका चेपाङ जातिको बाहुल्यता रहेको पालिका हो ।सीमान्तकृत चेपाङ समुदायको संस्कृति, परम्परा संरक्षण, संवद्र्धन एवम् प्रचारप्रसार गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकाले संग्राहलय निर्माण गरिरहेको छ । चेपाङ समुदायको पहिचानसँग जोडिएको भेषभुषा, चेपाङले प्रयोग गर्ने परम्परागत सामग्री र मौलिक खाद्यवस्तु संरक्षण गर्ने उद्देश्यले ३ करोड ६३ लाख रुपैयाँको लागतमा चेपाङ संग्रहालय निर्माण गरिएको हो ।

राक्सिराङ गाउँपालिकाले वडा नम्बर ५ चैनपुरमा भवन निर्माण गरिएको तीनतले संग्रहालय भवनको निर्माण कार्य सकिएर विद्युतीकरण र रंगरोगन बाँकी रहेको अध्यक्ष मल्लले बताएका छन् । संग्रहालयमा चेपाङ समुदायले जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग गर्ने सामग्रीहरु राखिनेछ । एकपाखे ढ्याग्रो, माछा, चमेरो मार्ने जाल, चिउरीपेल्ने औजार, ठेकी, थुन्से, गुलेली, खोरिया खन्दा प्रयोग गरिने कुटोकोदालो, हलो, सिकार खेल्दा प्रयोग गर्ने हातहतियार, चिउरीको घिउ राख्ने भाँडोलगायत चेपाङ जीवनशैली र पहिचानसँग जोडिएका सामग्री अध्ययन अवलोकनका लागि संग्रहित गरिने पालिका अध्यक्ष मल्लले बताए ।

राक्सिराङ गाउँपालिकाको केन्द्रसमेत रहेको चैनपुरमा विगतमा चेपाङ संग्रहालय संचालनमा थियो । अवलोकन र अध्ययनका लागि विभिन्न स्थानबाट मानिस आउने गर्थे । २०७२ सालमा आएको भूकम्पले संग्रहालय भवनमा क्षति पु¥याएको थियो । भवनको मर्मत र सम्भारकार्य हेटौंडाका दिलीप बानियाँको आर्थिक सहयोगमारोटरी क्लब अफ मकवानपुरलेगरेको हो । भवन जीर्ण हुँदै गएकाले २०७८ साउनदेखि नयाँ भवन निर्माणकार्य सुरु गरेको हो । त्कालीन जिल्ला विकास समितिको सहयोगमा २०६७ सालदेखि चेपाङ संग्रहालय स्थापना गरिएको थियो । २०७८ सालको जनगणना अनुसार मकवानपुरमा २३ हजार छ सय ४० चेपाङ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*