मन्त्री मणि थापाले ‘श्री ५ को सरकारको तर्फबाट लामसलाम टक्र्याउँछु’ भनेपछि…

साझाकुरा
२०७७ माघ १८, आईतवार ००:०६

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले नेपालमा राजनीतिक क्रान्ति सकिएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा सुर्खेत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन्।

श्री ५ को सरकारको तर्फबाट लालसलाम टक्र्याउँछु भन्दै थापाले भने, “हामीलाई थाहा छ हामी किन यहाँ उपस्थित भयौँ। नेपालमा राजनीतिक क्रान्ति सकियो। सबै राजनीतिक क्रान्ति र आन्दोलनको अब मिनिङ छैन। २००७ सालदेखिको राजनीतिक क्रान्ति अब सकियो।अब आर्थिक क्रान्ति चाहिएको छ। नेपालीले देशमै रोजगार पाउनु पर्यो। राजनीति क्रान्तिको अर्थ अब जुलुस, हड्ताल बन्द गर्नुस्, बन्दुक बोक्नुस् तर देश चेन्ज भएन भने त्यसको कुनै अर्थ हुँदैन। प्रधानमन्त्री फेर्दैमा मात्रै केही हुँदैन।”

उनले नेपालमै रोजगारी नपाएसम्म, शान्ति सुरक्षा नपाएसम्म देश परिवर्तन भएको मान्न नसकिने बताए। देशमै पढ्न नपाएर विदेशका स्कुल कलेज जानु पर्ने बाध्यता नहटेसम्म देश विकास भएको नमानिने उनले बताए।

नेकपाका स्थायी समिती समेत रहेका थापाले नेपाली जनताले आफ्नै देशमा बास,गाँस,कपास पाउनु पर्ने बताए। जनताले आफ्नै देशमा शान्ति सुरक्षा, शिक्षा तथा रोजगारी पाउनु पर्नेमा उनले जोड  दिए। मन्त्री थापाले आर्थिक समृद्धिमा आफूहरु जसरी पनि पुग्नु पर्ने बताए।

मन्त्री थापाले भने, “अब यहाँ पूर्वएमाले, पूर्वमाओवादी छैनन्, अब यहाँ नयाँ कम्युनिष्ट पार्टीको गुण छ। नयाँ आन्दोलनको गुण छ।”

प्रचण्ड र माधव नेपालले देशलाई अस्थिरतातर्फ लैजाने कोसिस गरिरहेको मन्त्री थापाले आरोप लगाए।

देशलाई ‘कू’ को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोजेकाले अब चुनावको विकल्प नभएको उनले बताए। चुनावको लागि तयारी रहन समेत उनले आग्रह गरे।

उनले प्रधानमन्त्री ओलीलाई प्रचण्डले धोका दिएको बताए। उनले प्रचण्ड र माधव नेपाल चुनावदेखि डराएको आरोप लगाए।

मन्त्री थापाले (नेकपा) भित्रबाट प्रधानमन्त्रीलाई हटाएर ‘कू’ गर्न खोजिएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेश लिनका लागि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए।

उनले सडकबाट अस्थिरताको खेती गर्न खोजिएको भन्दै स्थिरता नभइ देश समृद्ध हुन नसक्ने बताए। मन्त्री थापाले देशभर केपी ओलीको समर्थनमा जनलहर आएको दावी गरे।

यसमा तपाइको मत

Your email address will not be published.


*