प्राज्ञिक लेखन गुणस्तरका लागि विज्ञ–परामर्श

साझाकुरा
२०७७ माघ २१, बुधबार २१:२२

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले शोधमूलक प्रकाशनार्थ प्रस्तुत गरिने प्राज्ञिक लेखको गुणस्तरीयताको समीक्षा तथा मूल्याङ्कनबारे विज्ञहरुसँग परामर्श गरेको छ ।

प्रतिष्ठानको साहित्य (समालोचना र निबन्ध) विभागद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमका विज्ञ वक्ताले प्राज्ञिक लेखनको स्तरीकरणका साथै जर्नलको गुणस्तरका लागि विशेष ध्यान दिइनुपर्ने खाँचो औँल्याए । उनीहरूले प्रतिष्ठानबाट प्रकाशित हुने जर्नल लेखको प्रभावकारिता र गुणस्तर कायम गर्न लेखकबीच एकरुपता ल्याउन निश्चित मापदण्डका साथै जर्नल निर्देशिका बनाइनुपर्ने सुझाए ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्राज्ञिक लेखन स्तरअभिवृद्धिका लागि अभिमुखीकरण उपयोगी हुने बताए । उनले विज्ञको छलफलबाट प्रतिष्ठानका प्राज्ञिक प्रकाशनको गुणस्तर बढाउनुका साथै लेखकीय ढाँचाको एकरुपता र समय सान्दर्भिक विषयवस्तुको उठानमा सकारात्मक ऊर्जा प्राप्त भएको भन्दै आगामी दिनमा पनि यस्ता प्राज्ञिक बहसलाई निरन्तरता दिइने बताए । उनले प्रतिष्ठानका सबै प्रकाशनलाई अनलाईनमा राख्ने आवश्यक तयारी भइरहेको पनि जानकारी दिए ।

प्रतिष्ठानका पूर्वकुलपति प्रा डा वासुदेव त्रिपाठीले प्राज्ञिक लेखन अभिवृद्धिका लागि सैद्धान्तिक दृष्टिकोण, सोध र ज्ञानको प्रस्तुतिको ढाँचालाई परिपक्व तथा सोधग्रन्थलाई विशिष्टीकृत र सरलीकृत गर्न कार्यक्रम उपयोगी र सान्दर्भिक भएको बताए ।

प्रतिष्ठानका सदस्य–सचिव जगत्प्रसाद उपाध्यायले प्राज्ञिक अनुसन्धानमा आफ्नै पद्धतिको विकासका लागि प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न अनुसन्धान गर्ने निकायको अनुसन्धानको एपिए, एमएल फम्र्याट नभई अनुसन्धानमा आफ्ने पद्धति बनाइनुपर्नेमा जोड दिए ।

प्रा डा गोपीन्द्र पौडेलले विज्ञ लेखनलाई गुणस्तरीय बनाउन समीक्षा अनिवार्य आवश्यक भएको र यसले लेखनमा एकरुपता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘समकक्षी (विज्ञ) समीक्षाको ढाँचा तथा प्रयोगपक्ष’ विषयमा प्रा डा ताराकान्त पाण्डेयले कार्यपत्र प्रस्तुत गरेका थिए ।

अधिकांश टिप्पणीकारले प्रतिष्ठानको प्राज्ञिक लेखनलाई स्तरीकरण गर्दै एकीकृत लेखन पद्धतिको विकास गरिनुपर्नेमा पनि जोड दिए । कार्यपत्रमाथि टिप्पणी गर्नेमा प्रा डा माधवप्रसाद पोखरेल, प्रा डा दयाराम श्रेष्ठ, प्रा डा दानराज रेग्मी, प्रा डा कुमारप्रसाद कोइराला, प्रा डा लक्ष्मणप्रसाद गौतम, प्रा डा योगेन्द्रप्रसाद यादव, प्रा डा उमेशकुमार मण्डल, प्रा डा डिल्ली ओली र प्रा डा गोविन्दशरण उपाध्याय थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*