केपी ओलीलाई संसदले प्रधानमन्त्री बनाएको हाे: वर्षमान पुन

साझाकुरा
२०७७ माघ २५, आईतवार १९:२७

स्याङजा । नेकपा माधव-प्रचण्ड समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन् । ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दाबी गरेको भन्दै पुनले ओली जनताबाट नभई संसदबाट प्रधानमन्त्री चुनिएको बताए ।

देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट एक-एक र १ सय १० जना समानुपातिकबाट गरी २ सय ७५ सांसद मात्र जनताले छान्ने मन्त्री पुनको स्पष्टोक्ति छ । ‘ओलीजी प्रधानमन्त्रीको उम्मेदवार भएर देशभरका जनताले भोट हालेको होइन’, पार्टी सम्वद्ध युवा र विद्यार्थीको भेलालाई आइतबार स्याङजामा सम्बोधन गर्दै पुनले भने, ‘उहाँ झापाको एउटा क्षेत्रबाट निर्वाचित सांसद हो, देशभरबाट होइन । उहाँले जसरी १ सय ७५ जना सांसदले चुनाव जितेका छन् ।’

प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्तिहरुमा आफू पाँच वर्षका लागि जनताबाट प्रधानमन्त्री निर्वाचित भए पनि पार्टीभित्रैको अवरोधले काम गर्न नपाएकाले संसद विघटन गरेको दाबी गर्दै आएका छन् ।
ओली सरकारमा तीन वर्ष ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री रहेका पुनले ओलीले पार्टीले पाँच वर्ष सरकार चलाउन दिएको जनमतमाथि घात गरेको टिप्पणी गरे ।

उनले ४ सय ४१ सदस्यीय केन्द्रीय समितिका ७० प्रतिशत बढी सदस्य माधव–प्रचण्ड समूहमा रहेकाले मूलधार आफूहरु नै भएको उल्लेख गरे । केन्द्रीय समितिदेखि गाउँ कमिटीसम्म र संसदमा समेत आफूहरु बहुमतमा रहेकाले पार्टीको आधिकारिकता र चुनाव चिन्ह पनि आफूहरुले नै पाउने दाबी पुनको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*