सुर्खेतमा ६ महिनामै १३६ करोडको तरकारी फलफल बिक्यो, बढ्दै उत्पादन पनि

साझाकुरा
२०७७ माघ २७, मंगलवार १२:५६

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७।७८ को छ महिनामा तरकारी तथा फलफूलमा एक अर्ब ३६ करोड रुपैयाँको कारोवार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले संकलन गरेको अर्थ बजारको तथ्यांकलाई हेर्दा छ महिनामा एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६ सय रुपैयाँको कारोवार भएको हो। वर्षे तथा हिउँदे तरकारी, बेसार, अलैँची, तरकारी बीउ, वर्षे मकै, बदाम, कन्येच्याउ, लिची, आँप, सुन्तला, वर्षे तथा हिउँदे आलु, जुनार (मौसम), अदुवा र लसुनमा भएको कारोवारलाई पहिलोपटक तथ्यांकमा निकालिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए।

“हामीले सुर्खेत जिल्लामा पहिलोपटक लिएको फलफूल र तरकारी बालीवस्तुको आर्थिक कारोवार हो”, निर्देशक रोकायले भने, “उत्पादित बालीवस्तुबाट भएको आन्तरिक तथा बाह्य कारोवार कति भएको छ भन्ने कुरा यो प्रारम्भिक तथ्याङ्कले देखाएको छ,” उनले भने, “सुर्खेत राजधानी भएर कर्णालीका अन्य जिल्लाबाट आएको तरकारी तथा फलफूलको कुरा हुनसक्छ, निर्यात कारोवार तेब्बरले भएको देखिन्छ ।”

उनका अनुसार सुर्खेत जिल्लाभित्र भएको ५३ हजार ५५३ क्विन्टलबाट २३ करोड १४ लाख २३ हजार ४ सय रुपैयाँ कारोवार भएको छ। यस्तै सुर्खेतबाट बाहिर निर्यात दुई लाख २५ हजार ५८९ क्विन्टलमा ८० करोड ५३ लाख ६९ हजार २ सय रुपैयाँ कारोवार भएको छ । यो प्रारम्भिक तथ्यांक भएकाले यसको प्रशोधन गरिने निर्देशक रोकायको भनाइ छ ।

निर्देशनालयका अर्थविज्ञ प्रिया थापाले उत्पादित कन्येच्याउ दुई हजार ७२५ क्विन्टलबाट छ करोड २६ लाख ७५ हजार रुपैयाँ, हिउँदे तरकारी २० हजार ५६७ क्विन्टलबाट छ करोड १७ लाख एक हजार रुपैयाँ र वर्षे तरकारी १८ हजार ४८८ क्विन्टलबाट पाँच करोड ९१ लाख ६१ हजार ६ सय आन्तरिक कारोवार भएको जानकारी दिइन् ।

“कारोवार भएका तरकारी तथा फलफूल बालीमा आयातभन्दा कर्णालीले उत्पादन गरेका फलफूल र तरकारी बालीवस्तु नै छन्”, अर्थविज्ञ थापाले भनिन्, “उत्पादित बालीवस्तुबाट भएको कारोवारमा कर्णालीले कति निर्यात र आयात गर्दोरहेछ भन्ने कुराको निर्क्यौल गरिनेछ ।”

त्यसैगरी निर्यातित वर्षे तरकारी एक लाख ६६ हजार ४६१ क्विन्टलबाट ५३ करोड २६ लाख ७५ हजार २ सय रुपैयाँ, हिउँदे आलु २७ हजार ६७५ क्विन्टलबाट १२ करोड ७३ लाख पाँच हजार रुपैयाँ, हिउँदे तरकारी १७ हजार ५४८ क्विन्टलबाट पाँच करोड २६ लाख ४४ हजार रुपैयाँ र सुन्तला पाँच हजार ८५६ क्विन्टलबाट तीन करोड ८० लाख ६४ हजार रुपैयाँ बाह्य कारोबार भएको अर्थविज्ञ थापाले जानकारी दिइन्।

यसमा तपाइको मत

Your email address will not be published.


*