घाम तापेर बित्छ शिक्षकको दिनः विद्यालय छ, छैनन् विद्यार्थी

साझाकुरा
२०७७ फाल्गुन ३, सोमबार १३:१३

बारा । जिल्ला सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ  । कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना सञ्चालनमा छ ।

सो विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी गरी तीन कर्मचारी रहे पनि विद्यार्थी नभएपछि शिक्षक घाम तापेर दिन बिताउने गरका छन् । विद्यार्थी नहुँदा विद्यालय आएर हाजिर लगाएर जाने शिक्षकहरुको दिनचर्या बनेको छ। विद्यालयमा विद्यार्थी नभए पछि त्यहाँ रहेका शिक्षकहरुले भने घाम तापेर दिन बिताउने गरेको, विद्यालयमा एक विद्यार्थी पनि नभएको, विद्यालयमा विद्यार्थी भएको कुनै रेकर्ड नै नभएको प्रधानाध्यापक शर्मानन्दप्रसाद साहकले बताए।

विगत लामो समयदेखि राजनीतिकको अखडाका रुपमा विद्यालय रहेकाले पठनपाठन प्रभावित हुने हुँदा विद्यार्थीको उपस्थिति नभएको गुनासो स्थानीयवासीको छ । पटकपटक विद्यालय सुधारका लागि स्थानीय निकाय, वडा कार्यालय तथा विद्यालय व्यवस्थापन समितिलाई जानकारी गराउँदासमेत कसैले विद्यालयप्रति चासो नराखेकाले यस्तो अवस्था आएको हो ।

विद्यालय स्थानीय तहमा आएपछि शिक्षा क्षेत्रमा देखिएको समस्याबारे जिज्ञासा राख्दा महागढीमाई नगरपालिका शिक्षा विकास शाखाका प्रमुख रामविश्वासप्रसाद चौरसियाले सो विद्यालयका प्रधानाध्यापक साहको कमी कमजोरीका कारण विद्यालयमा विद्यार्थीको सहभागिता न्यून रहेको बताए ।

त्यस विद्यालयलाई चैत महिनासम्ममा विद्यार्थी जुटाउन आदेश दिएको र तय समयमा विद्यार्थी जुटाउन नसके विद्यालयलाई समायोजन प्रक्रियामा लग्ने नगरपालिकाले जनाएको छ । विद्यालयमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात लगेकाले त्यहाँबाट केही निर्णय नआएसम्म कुनै कदम चाल्न नसक्ने नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*