९१ करोड बिगो दाबीसहित १३ जनाविरूद्ध राजस्व चुहावटको मुद्दा

११ कम्पनीको भ्याट बिल एउटैले काट्ने गरेको खुलासा
साझाकुरा
२०७७ फाल्गुन ४, मंगलवार १९:५४

काठमाडौं । ९१ करोड ३० लाख ५६ हनार ५ सय ११ रुपैयाँ राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धानले १३ जनाविरूद्ध अदालतमा मुद्दा हालेको छ । विभागले मुख्य अभियुक्त सुवोध साहसहित ९ अभियुक्त र २ मतियारविरूद्ध पाटनको उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी ११ वटा फर्मको बैंक खाता सर्लाही जिल्ला बलरा नगरपालिका–७ का साहले सञ्चालन गरेको विभागले जनाएको छ ।

साहले एसबीके इन्टरनेसनल, डाइनामिक इन्टरनेसनल, एनएस एक्टिभ इन्टरनेसनल, क्राउन इन्टरनेसनल सप्लायर्स, मनरेगा सप्लायर्स, यूनियन इम्पेक्स, मेगा राइज इन्टरनेसनल ट्रेड, सनसाइन प्रोलिंक ट्रेड, सीबीएस इन्टरनेसनल सप्लायर्स, टाइटानियम सप्लायर्स र एक्टिभ सप्लायर्स चलाएका हुन् । यी कम्पनीका सञ्चालन तथा झुट्टा/नक्कली बिल साहले गरेर राजस्व छलेको अनुसन्धानबाट खुलेको हो ।

साहसँग मिलेर सुरेन्द्र सहनी, सरोज कुमार मिश्र, कलिम अंसारी, अवधेश पटेल, सुमन कुमार महतो, राजेश्वर महतो, ईदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुअ कर बिलमा मात्र खरिद गरेको पाइएको छ ।

कर छलीमा झुट्टा तथा नक्कली कर बिजकको कारोबार एवम् लेखा परीक्षण प्रतिवेदन तयार गरी कर छलीमा सहयोग गर्ने लेखा परीक्षक कृष्णप्रसाद घिमिरे, दीपक निरौला र दीपककुमार कोइरालालाई मतियारका रुपमा माग दाबी सहित मुद्दा दर्ता गरिएको विभागद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*