१ हजार सुत्केरी गाईलाई २-२ हजार भत्ता !

साझाकुरा
२०७७ फाल्गुन ५, बुधबार २०:३१

काठमाडौं । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपर्दैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ ।

पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँपालिकाका पशु शाखा प्रमुख एन्जलबाबु कार्कीले बताए । आव २०७६/७७ मा एक हजार सुत्केरी गाईलाई भत्ता गाउँपालिकाले वितरण गरेको छ ।

दुग्धजन्य खाद्यवस्तुमा गाउँपालिका आत्मनिर्भर हुनका लागि पशुपालक घरपरिवारले पालेको गाई वा भैँसी सुत्केरी (दुहुनो भएमा) रु दुई हजार प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको पशु शाखा प्रमुख कार्कीले बताए । सो कार्यक्रमअन्तर्गत गएको वर्षमा एक हजार दुनो गाईको लागि रु २१ लाख ४१ हजार भत्ता वितरण गरेको पशु शाखा प्रमुख कार्कीले बताए ।

एक घरमा एउटा गाई वा भैँसी सुत्केरी भएमा गाउँपालिकाले रु दुई हजारका दरले नगद प्रदान गर्दै आएको छ । एउटै घरमा एकदेखि बढी गाई वा भैँसी सुत्केरी भएमा रु एक हजार थप गरेर नगद प्रदान गर्ने गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सुत्केरी गाई र भैंसीका लागि प्रोत्साहन कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरेको पशु शाखाले जनाएको छ ।

गाउँपालिकाका पशुपालकहरुलाई भैपरी आउने विभिन्न दैवीप्रकोप र महामारी रोगहरुबाट पर्न सक्ने आर्थिक सङ्कटबाट बचाउन गत आवमा दुई हजार पशुहरुको बीमा गरेको गाउँपालिका पशु शाखा प्रमुख कार्कीले बताए । गाउँपालिकाभित्रका एउटा पशुलाई प्रिमियमबापत १ हजार १०० दरले दुई हजार पशुको बीमा कार्यक्रमअन्तर्गत गत आवमा ६ लाख ५० हजार गाउँपालिकाले बीमाबापत पशुपालकको पशुको बीमा रकम तिरिदिएको गाउँपालिकाको पशु शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

रासस

यसमा तपाइको मत

Your email address will not be published.


*