आर्थिक विकासको आधार सूचना प्रविधिको विकासः अध्यक्ष गोल्छा

साझाकुरा
२०७७ फाल्गुन १२, बुधबार १९:५२

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले जुनसुकै मुलुकको आर्थिक विकासका लागि सूचना तथा प्रविधि क्षेत्रको योगदान निकै महत्वपूर्ण हुने बताएका छन् ।

उनले सूचना प्रविधिको क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने भएकाले बताउँदै अघि भने–‘आइसीटीको विकासमा सरकारको पहल सुस्त देखिएको, सूचान प्रविधि पार्कको सही अर्थमा उपयोग हुन सकेको छैन, कोभिड पश्चात सूचना प्रविधिको प्रयोग अझ बढ्न गएकाले अर्थतन्त्रसंग जोडिन सक्ने दूरदराजका किसान, आफनै पौरखमा रमाइरहेका ससाना उद्यमी व्यवसायीहरू र उनीहरूका उत्पादनलाई सिधै बजारसम्म जोड्ने प्रविधिको प्रयोग बढाउनुपर्छ ।’

उनले तल्लो वर्गलाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गराउन पनि सूचना प्रविधिकै भूमिका रहेको बताउँदै भने–‘सूचना प्रविधिको विकासकै कारण कोभिड महामारीमा पनि आपूर्तिमा कुनै समस्या भएन, घर घरमा सामान पुग्ने वातावरण बन्यो ।’ गोल्छाले महासंघले तयार गरिरहेको भिजन पेपरमा पनि सूचना तथा प्रविधिलाई उच्च प्राथमिकता दिइएको पनि बताए ।

महासंघले कार्यकारिणी समितिका सदस्य मंगेशलाल श्रेष्ठकोे सभापतित्वमा सूचना तथा संचार प्रविधि विकास समिति विस्तार गरेको थियो । समितिका सह–सभापतिहरूमा क्यान महासंघ नेपालका अध्यक्ष नवराज कुंवर, नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुली, नेपाल विज्ञापन संघका अध्यक्ष सोम प्रसाद धिताल र नेपाल सरकारका पूर्व सहसचिव वीरेन्द्र मिश्र छन् ।

समितिका सदस्यहरूमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौका दिपक भण्डारी, लोटस होल्डिङसका प्रमुख कार्यकारी निर्देशक अजित विक्रम शाह, ठमेल डटकमका संस्थापक बाल कृष्ण जोशी र नेपाली यूवा उद्यमी मंचका सुरक्षा अधिकारी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*