बजारलाई सुन पुगेन, आयात बढाउनुपर्योः महासंघ

साझाकुरा
२०७७ फाल्गुन १८, मंगलवार २१:०१

बकाठमाडौं । पछिल्ला दिनमा स्थानीय बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दिनेश भट्टराईसँग भेट गरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सिर्जना भएकाले तत्काल कोटा वृद्धि गर्न माग गरेको हो ।

व्यवसायीसँगको भेटमा सचिव भट्टराईले कोटा वृद्धि गरी बजारमा देखिएको अभाव हटाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्बन्धित निकायसँग आवश्यक परामर्श गरी शीघ्र समस्याको समाधान गरिने बताए । सचिव भट्टराईले आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा अवैध कारोवार फष्टाउन सक्नेतर्फ पनि सरकार सचेत रहेको उल्लेख गर्दै व्यवसायीका माग शीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

त्यसक्रममा महासङ्घका अध्यक्ष शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सचिव भट्टराईसँग आग्रह गरे । अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकाले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता उनले औँल्याए । आवश्यकतानुसार कच्चा सुन सहजरुपमा उपलब्ध नहुँदा बजारमा अवैध सुन भित्रिन सक्ने र त्यसबाट सरकारी राजस्वसमेत गुम्ने खतरा रहेको उनले स्मरण गराए ।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आयात हुने गरेको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published.


*