अर्थतन्त्र ४.६ प्रतिशत माइनसमा, कोरोनाले जित्यो भूकम्प र नाका बन्दीको क्षतिलाई

साझाकुरा
२०७७ फाल्गुन २०, बिहीबार १३:३९

काठमाडौं । कोरोना महामारीले नेपाली अर्थतन्त्रलाई भूकम्प र नाका बन्दीको भन्दा ठूलो क्षति पुर्याएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक(माइनस)मा गएको हो ।

केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार पहिलो तीन महिनामा अर्थतन्त्रमा भारी संकुचन आएको हो । विभागका अनुसार गत आर्थिक वर्ष २०७६।७७ मा पनि नेपाली अर्थतन्त्र १.९९ प्रतिशतले माइनसमा गएको छ ।

सरकारले गत आवमा २.२७ प्रतिशतको आर्थिक वृद्धि दर हासिल हुने दावी गरेको थियो । तर तथ्यांक विभागले पनि अर्थतन्त्र करिब २ प्रतिशतले माइनसमा गएको देखाएको हो । गत आवमा नेपालीहरुको प्रति व्यक्ति आम्दानी ११३४ डलर रहेको थियो । भूकम्प र नाका बन्दीका समयमा नेपालको आर्थिक वृद्धिदर शुन्यमा सिमित भएको थियो ।

विभागले राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तन गरेको छ । विभागले पाँचौपल्ट कुल गार्हस्थ उत्पादनको आधार वर्ष परिवर्तन गरेको हो ।
जनाएको छ । यसअघि २०००।०१ लाई आधार वर्ष मानिने गरिएकामा अबदेखि २०१०।११ लाई आधार वर्ष मानिनेछ ।

आधार वर्ष परिवर्तन गर्दा नेपालको अर्थतन्त्रको आकार पनि फेरिएको छ । पुराना आधार वर्षअनुसार गत आर्थिक वर्ष (आव २०७६।७७)मा नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रहेको अनुमान गरिएकामा आधार वर्ष परिवर्तन गर्दा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्बको भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तन गर्दा गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको विभागले जनाएको छ । आधार वर्ष परिवर्तन गर्नुपूर्व नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशतले हुने प्रक्षेपण रहेको थियो ।

राष्ट्रिय लेखा तथ्यांकको आधार परिवर्तनले अर्थतन्त्रको आकार मात्रै नभएर नेपालीको प्रतिव्यक्ति आय पनि बढेको छ । आधार वर्ष सन् २०००।०१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्षअनुसार नेपालीको प्रतिव्यक्ति आय ११३४ डलर पुगेको विभागले जनाएको छ ।

आधार वर्ष परिवर्तनसँगै अर्थतन्त्रको उपसूचक पनि १७ बाट विस्तार भएर २१ वटा पुगेका छन् । नेपालमा पाँचौँपटक आधार वर्ष परिवर्तन भएको विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*