‘मौलिक पहिचानसहितको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लागौं’

साझाकुरा
२०७७ फाल्गुन २१, शुक्रबार २०:५४

काठमाडौं । नेपाल उद्योग परिसंघले व्यापकरुपमा अगाडी बढाएको मेक इन नेपाल–स्वदेशी अभियानको सफलताको लागि राष्ट्रपतिले शुभकामना व्यक्त गरेकी छिन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको छलफलमा राष्ट्रपतिले आफ्नो अन्तरआत्मामा लागेको विषयलाई परिसंघले उठाएकोमा धन्यवाद समेत व्यक्त गरिन् ।

यस अभियानलाई सफल बनाउनको लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनु पर्ने बताइन् । नीजि क्षेत्र र सरकारबीचमा औद्योगिक वातावरण र उद्योग विकासको कुरामा समान धारणाको विकास हुनु पर्नेमा पनि उनको जोड थियो । सरकारले स्वदेशी उत्पादनलाई नै प्रवद्र्धन गर्नको लागि स्वदेशी सामानको खरिदमा पन्ध्र प्रतिशतसम्म महंगो भए पनि खरिद गर्ने व्यवस्था गरेको प्रसंग उल्लेख गर्दै आत्मनिर्भरता र अन्तरनिर्भरता दुबै संस्कारको रुपमा अगाडी बढीरहेको धारणा राखिन् ।

राष्ट्रपतिले कतिपय उत्पादनहरु देशका मौलिक पहिचानसँग सम्बन्धित भए पनि स्वदेशमा उत्पादन नभएको तर्क राख्दै उद्योगी व्यवसायीहरुले त्यसतर्फ पनि ध्यान पु¥याउनु पर्ने सुझाव दिइन् । नेपालमा धेरै क्षेत्रमा दक्ष र अदक्ष कामदारहरुको टड्कारो आवश्यकता देखिएको बताउँदै नीजि क्षेत्रले दक्ष जनशक्ति उत्पादनमा समेत ध्यान पु¥याउनु पर्नेमा पनि उनको जोड थियो । राष्ट्रपतिले नीजि क्षेत्र स्पष्ट भएर अगाडी आउनु पर्ने र आयात विस्थापन गर्नको लागि पूर्वाधार तयार गर्न सुझाव दिइन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले परिसंघले अगाडी सारेको यो अवधारणामा सरकारको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै यस अभियानले आम जनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने धारणा राखे । अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन थप सहयोग पु¥याउने अध्यक्ष मोरको धारणा थियो ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाले स्वदेशी अभियान के हो र यस अभियानलाई अगाडी बढाउनको लागि परिसंघको अवधारणा प्रस्तुत गरे । छलफलमा परिसंघको तर्फबाट परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले परिसंघले अगाडी सारेको यस अवधारणालाई सरकाले स्वामित्वबोध गरी औद्योगिक वातावरण सृजना गर्नको लागि सघाउनु पर्ने बताए ।

छलफलमा परिसंघका प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलले मेक इन नेपालको अवधारणालाई प्रस्तुत गर्दै यस अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याउने लक्ष्य लिएको, कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने, हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने लगायतका विषयमा राष्ट्रपति समक्ष प्रस्तुत गरेका थिए । डा. पौडेलले उत्पादन स्तम्भहरू क्रमशः नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण बनाउने, आयात प्रतिस्थापन, पूर्वाधारमा पूँजी खर्च, सेवाक्षेत्रको आधुनिकिकरण र खपत स्तम्भहरू क्रमशः स्वदेशी वस्तुको उपभोग, सरकारले स्वदेशी उत्पादनहरुको उपभोगलाई प्राथमिकता दिने र स्थानिय उत्पादनलाई वैदेशिक वजार खोज्ने सम्बन्धमा राष्ट्रपति समक्ष प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*