उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्छः पूर्वमन्त्री डा. महत

साझाकुरा
२०७७ फाल्गुन २९, शनिबार १५:४४

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने बताएका छन् । नेपाल वितरक महासङ्घ केन्द्रीय समितिको तनहुँको दमौलीमा आयोजित नवौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै डा. महतले उक्त कुरा बताएका हुन् ।

उदार अर्थ नीतिले केबल देश विकास मात्र नभई आर्थिक गतिविधि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पु¥याउने डा महतले बताए । “देशको राजश्व बढाउनका लागि उदार अर्थ नीतिको आवश्यक छ, किनभने आर्थिक गतिविधि बढाउने सरकारको मात्रै जिम्मेवारी होइन”, उनले भन, “सरकारले गर्नुपर्ने उपयुक्त काम सरकारले नै गर्नुपर्छ । बाँकी काम निजी क्षेत्रको पनि हो ।”
पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, गरीबी निवारण, सामाजिक सुरक्षाका काम सरकारले गर्नुपर्ने र उद्योगधन्दा बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । “सरकारले गैरसरकारी र सहकारी क्षेत्रलाई प्रोत्साहन गरेर मुलुक समृद्ध बनाउने वातावरण सिर्जना गर्नुपर्छ”, उनले भने, “स्वदेशी र विदेशी पूँजीको लगानी वृद्धि गर्नुपर्छ ।”

स्वदेशी पूँजी संरक्षण गर्दै व्यवसायीको हकहितका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै डा महतले राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सबैबीच सहमति र सहकार्यको आवश्यकता रहेको चर्चा गरे । उद्योगी, व्यवसायीलाई शोषण गर्न नहुने बताउँदै पूर्वमन्त्री डा महतले व्यवसायीले पनि सही ढङ्गबाट कर तिर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाल वितरक महासङ्घका केन्द्रीय अध्यक्ष सुरेश अधिकारीले वितरक महासङ्घलाई सरकारले अन्य व्यवसायीसरह हेर्न नहुने बताए । साधारणसभामा ४४ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरी करीब ५०० जना सहभागी छन् । कार्यक्रममा व्यवसायीले अनुगमनका क्रममा हतोत्साही बनाउने काम भएको बताउँदै अस्थिर राजनीतिका कारण व्यवसायी ढुक्क हुने स्थिति नरहेको गुनासो गरे । रासस

यसमा तपाइको मत

Your email address will not be published.


*