निजी क्षेत्रसँग जीवन्त सहकार्य गर्न चाहान्छौंः अर्थमन्त्री

साझाकुरा
२०७७ चैत्र २, सोमबार १९:५१

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७० औं बार्षिकोत्सव समारोहमा अर्थमन्त्री पौडेलले भने–“तपाईँहरूका समस्या सुन्न र ती समस्या समाधान गर्नमा सरकारको ध्यान छ ।”

उनले सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर समृद्धिको सपना पुरा गर्नुपर्नेमा पनि जोड दिए । ‘निजी क्षेत्रसँग जिवन्त सहकार्यका लागि सरकार आह्वान गर्दछ ।”, अर्थमन्त्री पौडेलले भने ।

राष्ट्रपति भवन शितल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताइन् । “चेम्बरजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको छ”, राष्ट्रपतिले भनिन्, “नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन विभिन्न प्रर्दशनीहरूको आयोजना गर्नुका साथै प्रवद्र्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको छ ।”

औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको राष्ट्रपतिले बताइन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महामारी, बाढी, पहिरो, कोभिड–१९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत तथा पुनःस्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले प्रशंसा गरिन् ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको “समृद्ध नेपाल सुखी नेपाली” महाअभियानको सारथी भएको बताए । “सरकार र निजी क्षेत्र समृद्धिका निम्ति एक रथका दुई पांग्रा हुन्”, अध्यक्ष श्रेष्ठले भने, “हामी उच्चतम सहकार्यको संस्कृति निर्माण गर्न चाहन्छौँ ।”

राष्ट्रपतिद्वारा स्मृति ग्रन्थ विमोचन
नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० वर्षे इतिहास झल्कने स्मृति ग्रन्थ प्रकाशित गरेको छ । सोमबार आयोजित वार्षिकोत्सव समारोहमा राष्ट्रपति भण्डारीले स्मृति ग्रन्थ विमोचन गरिन । स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसर पारेर चेम्बरले ‘नेपाल चेम्बर अफ कमर्स – स्मृति ग्रन्थ (२००७—२०७७)’ प्रकाशित गरेको हो । स्मृति ग्रन्थमा नेपाल चेम्बर अफ कमर्सको विकासक्रम, नेपालको व्यावसायिक इतिहास, पूर्व अध्यक्षहरूको परिचय, चेम्बरका ऐतिहासिक तस्बिर लगायतका सामग्री समेटिएका छन् ।

पूर्वअध्यक्षहरू सम्मानित
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चेम्बर अफ कमर्सले ७० वर्षको अवधिमा अध्यक्ष भई संस्थाको नेतृत्व गरेका पूर्वअध्यक्षहरूलाई सम्मान गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*