१२ हजार युवालाई स्वरोजगार बनाउँदै युवा तथा साना व्यवसायी स्वरोजगार कोष

साझाकुरा
२०७७ चैत्र १४, शनिबार १४:३०

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ ।

कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम मार्फत स्वरोजगार बनाउन शुरुआत गरेको हो । आर्थिक अभावका कारणले स्वरोजगार बन्न नसकेका युवालाई कोषले रु दुई लाख सहुलियत दरमा ऋण उपलब्ध गराउने गर्दछ ।

कोषले सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर कार्यक्रम, भेरी–कर्णाली इकोनोमिक करिडोर कार्यक्रम, काठमाडौँ उपत्यकाका स्वरोजगार कार्यक्रम र तराई–मधेश स्वरोजगार जस्ता नयाँ पाँच कार्यक्रम सञ्चालन गरेर १२ हजार युवालाई स्वरोजगार बनाउन थालिएको कोषका कार्यकारी उपाध्यक्ष डा कल्याण रोकाले जानकारी दिए।

रोकाले अहिले ती कार्यक्रमको सञ्चालनका लागि अनुगमनको कार्य भइरहेकाले चाँडै नै युवालाई कर्जा प्रवाह गरेर स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गरिने बताए । ती युवालाई आफूले जानेको सीप, क्षमता र ज्ञानका आधारमा व्यवसाय सञ्चालन गर्नका लागि कोषले ३.२ प्रतिशत ब्याजमा २ लाख उपलब्ध गराउने छ ।

कोषले स्थानीय तहसँग सहकार्य गरेर युवालाई स्वरोजगार बनाउने छ । स्थानीय तहबाट ३.५ प्रतिशत व्याजमा ऋण लिए कोषले तिनै स्थानीय तहमा बेरोजगार युवालाई स्वरोजगार बनाउन २ लाखका दरले ३.२ प्रतिशतमा व्याजमा ऋण उपलब्ध गराउने भएको छ ।

“हामीले स्थानीय तहबाट जति ऋण लिन्छौँ, त्यति नै थप गरेर त्यहाँ रहेका युवालाई लगानी गर्दछौँ”, रोकाले भने, “यसले गर्दा स्थानीय तहमा रहेका युवालाई त्यही नै रोजगारी सिर्जना गर्न सकिन्छ ।”

कोषले स्थानीय तहमा रहेका बैंक, वित्तीय संस्था र सहकारीमार्फत ती युवालाई रु दुई लाखका दरले ऋण उपलब्ध गराउने छ । अहिले कोषले सहकार्यका लागि स्थानीय तहलाई प्रस्ताव आह्वान गरेको छ । साझेदारी कार्यक्रमका कार्यक्रम संयोजक नरबहादुर साउँदले १२ स्थानीय तहले साझेदारी गर्नका लागि प्रस्ताव पेश गरेको जानकारी दिए । यस वर्ष स्थानीय तहका पाँच हजार युवालाई स्वरोजगार बनाइने लक्ष्य दिइएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published.


*