ओलीकाे समर्थन फिर्ता लिने निर्णय एक/दुई दिनभित्रै हुन्छ: प्रवक्ता श्रेष्ठ

साझाकुरा
२०७७ चैत्र १९, बिहीबार १३:३८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छिट्टै निर्णय लिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको अनौपचारिक बैठकले एक/दुई दिनभित्र अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने भनेर निष्कर्ष निकाल्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“आज अनौपचारिक बैठक बस्यो । एक/दुई दिनभत्र औपचारिक बैठक बस्दैछ । बैठकको तयारीस्वरुप आजको बैठक बसेको हो । पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण, विभिन्न राजनीतिक दलसँग भएको वार्ता संवादका विषयमा छलफल भयो”, श्रेष्ठले भने, “अहिले पनि परिस्थिति अझै स्पष्ट भइसकेको छैन । विभिन्न राजनीतिक पार्टीहरुसँगको वार्ताका क्रममा अहिलेको राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारेमा निक्र्योल गर्न केही समय माग गरेका छन् । पार्टीसँग छलफल गरेर निष्कर्षमा पुग्छौँ ।”

वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहेको जिकिर गर्दै उश्रेष्ठले केही प्राविधिक कारणले मात्र सरकारलाई समर्थन गर्नुपरेको बताए । “अहिलेको सन्दर्भमा हामीले समर्थन फिर्ता भनेर चिठ्ठी लेखेका छैनौँ”,श्रेष्ठले भने, “पार्टीको एकतापछि संविधानको धारा ७६ (१) को सरकार भएको थियो । ७६ (१) को सरकारलाई सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपालाई दुईवटा पार्टीमा विभाजन गरिदिइसकेपछि हामीसँग समर्थन मागेको पनि छैन, हामीले पनि समर्थन गरेका पनि छैनौँ ।”

बैठकमा पार्टीका सङ्गठानिक प्रक्रिया कसरी अगाडि बढाउने, देशव्यापीरूपमा अभियान कसरी लैजाने, राष्टियरूपमा प्रशिक्षण, भेला वा सम्मेलन के गर्ने भन्नेबारेमा पनि प्रारम्भिक छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले अब बस्ने स्थायी समिति बैठकले स्थगित पार्टीको केन्द्रीय समितिको बैठक, भेला तथा प्रशिक्षण छिट्टै गर्ने सम्बन्धमा निर्णय गर्ने पनि श्रेष्ठले जानकारी दिए । रासस

यसमा तपाइको मत

Your email address will not be published.


*