मकवानपुरमा एक प्रतिशत कोरोना संक्रमितले ज्यान गुमाए

साझाकुरा
२०७८ भाद्र २९, मंगलवार १२:४७

हेटौंडा/नेपालमाकोरोना भाइरस संक्रमण फैलिएको करिब १६ महिना अवधिमा मकवानपुरमा कुल कोरोना संक्रमितको एक प्रतिशत अर्थात्, एक सय ६४ जनाले ज्यान गुमाएका छन् ।

यो अवधिमा १५ हजार ८ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा कुल संक्रमतिको एक प्रतिशतले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार मनहरी गाउँपालिकाका एक जनाको मृत्युसँगै ज्यान गुमाउनेको संख्या एक सय ६४ पुगेको हो ।
ज्यान गुमाउनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका छन् । हेटौंडाका एक सय १६ जना रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी संक्रमणका कारण थाहानगर–पालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार ७ प्रतिशतमाा कोरोना संक्रमण

मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९ जनामाकोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय २२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यो संख्या कुल परीक्षणको ७ प्रतिशत हुने कार्यालयको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ९४ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा र २८ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना, थाहानगरपालिकाका १ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना र मनहरी गाउँपालिकाका एक जना रहेका छन् ।

यससँगै जिल्लामा हाल सम्म कोरोना संक्रमितको कुल संख्या १५ हजार १७ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ५ सय ५० जना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।

५० हजार बढीको परीक्षण

मकवानपुरमा हालसम्म ५० हजार बढी नागरिकको कोरोना संक्रमण परीक्षण गरिएको छ । हेटौंडालगायत बाँकी नौ वटा स्थानीय तहमा कोरोना परीक्षण गरिएको हो ।

हालसम्म जिल्लामा ५० हजार चार सय ५८ जनाको कोरोना संक्रमण परीक्षण गरिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । परीक्षण गरिएका मध्ये १५ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो सातामा मकवानपुरमा कोरोना संक्रमण निकै घटेर गएको छ । तर, यसअघि भने कोरोनाको संक्रमण दरमा बृद्धि भएको थियो ।

अहिले बजार र यातायातका साधन र बढी भीड हुने कार्यालयहरु खुलेसंगै कोरोनाको संक्रमण दर बढ्ला भन्ने चुनौती पनि उत्तिकै बढेको छ । कोरोना संक्रमण दर घटेसंगै हेटौंडा अस्पतालको आइसोलेसनमा समेत अहिले ६ जना संक्रमतिले उपचार गराइरहेका छन् । होम आइसोलेसनमा भने दुई सय ७० जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बागमतीका ३९ प्रतिशतले पाएनन् दोस्रो डोज खोप

बागमती प्रदेशका ३९ प्रतिशत नागरिकले अझै पनि कोभिसिल्डको दोस्रो डोज खोप लगाउन पाएका छैनन् । गत वर्षको माघबाट सुरु भएको खोप अभियानको विभिन्न चरणहरुमा कोभिसिल्ड खोप लगाएका मध्ये अझै ३९ प्रतिशत नागरिकले दोस्रो डोज लगाउन नपाएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेशका १३ जिल्लाका कुल ५ लाख ६७ हजार ८ सय २६ जना कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुमध्ये ३ लाख ४७ हजार १ सय ११ जना अर्थात ६१ प्रतिशत नागरिकले कोभिसिल्डको दोस्रो डोज लगाएका छन् ।

प्रदेशमा हालसम्म काठमाडौंका ४७ प्रतिशत, ललितपुरका २२ प्रतिशत, भक्तपुरका २५ प्रतिशत, रसुवाका ५५ प्रतिशत, नुवाकोटका ३४ प्रतिशत, धादिङका ४८ प्रतिशत, चितवनका २६ प्रतिशत, सिन्धुली ४७ प्रतिशत, मकवानपुरका ५६ प्रतिशत, दोलखाका ३१ प्रतिशत, काभ्रेका ३५ प्रतिशत र सिन्धुपाल्चोकका ६८ प्रतिशत नागरिकले कोभिसिल्ड खोपको दोस्रो डोज लगाउन नपाएको मन्त्रालयले जनाएको छ ।

प्रदेशको रामेछाप जिल्लामा भने पहिलो मात्रा लगाएका भन्दा ६८ प्रतिशत बढी व्यक्तिले कोभिसिल्ड खोपको दोस्रो डोज लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*