सिनेमा हल संचालन गर्न अनुमति

साझाकुरा
२०७८ भाद्र ३०, बुधबार १०:१६

हेटौंडा/कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको हेटौंडाका सिनेमा हल र दोहोरी साँझले सञ्चालनको अनुमति पाएको छ ।
सर्वसाधारणको भिडभाड धेरै हुने भएकाले सिनेमा हल र दोहोरी साँझ, पिकनिक स्थलहरु सञ्चालनमा प्रशासनले रोक लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य मापदण्ड अप्नाएर सञ्चालन गर्न अनुमति दिएको हो । हेटौंडामा २ सिनेमा हल, एक दोहोरी साँझ र दर्जनौं पिकनिक स्थल सञ्चालनमा छन् ।

यी तीनै क्षेत्र कोरोना महामारीको चपेटामा परेका थिए । सिनेमा हल, दोहोरी र पिकनिक स्थलहरु खुला गर्न सम्बन्धित सञ्चालकले आवश्यक पूर्वतयारीका विधि तथा मापदण्डहरु तयार गरी जिल्ला प्रशासन कार्यालयमा पहिला पेश गर्नुपर्ने छ ।

प्रशासनलाई पूर्वतयारी र मापदण्ड बारे जानकारी गराएपछि मात्रै सिनेमा हल, दोहोरी र पिकनिक स्थल सञ्चालन गर्न पाइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । जिल्ला स्थित हेटौंडामा रहेको शहीदस्मारक, वनस्खण्डी, मनकामना मन्दिर क्षेत्र, मकवानपुरगढी दरबार कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञाका कारण ठप्प थिए ।

प्रशासनले सर्व–साधारणलाई अनिवार्य मास्क र सेनिटाइज लगाएर मात्रै हिँड्डुल गर्न अनुरोध गरेको छ । कोरोना महामारीबाट बच्न स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको सिडिओ पाण्डेले बताए ।

केन्द्रको बैठकले विद्यालयलाई विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्न अभिभावक र विद्यालय व्यवस्थापन समितिको सिफारिस बमोजिम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा उल्लेखित मापदण्ड पूरा गर्न निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*