‘सी’ डिभिजन छनौटमा हेटौंडा विजयी

साझाकुरा
२०७८ आश्विन ५, मंगलवार १३:००

हेटौंडा/ संघीय राजधानी काठमाडौंमा जारी ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा मकवानपुरको राप्ती रिभर युवा क्लब (आरआरवाईसी) ले विजयी सुरुवात गरेको छ । सोमबार विहान एन्फा कम्प्लेक्समा भएको खेलमा चौतारा स्पोर्टिङ क्लब सिन्धुपाल्चोकमाथि आरआरवाईसीले सानदार जीत निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।

बिहान साढे ९ बजेबाट सुरु भएको खेलमा आरआरवाईसीले चौतारा स्पोर्टिङ क्लबलाई ५–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । अधिकांश हेटौंडाका खेलाडीहरु रहेका छन् । खेलको २४ औं मिनेटमा चौतारा स्पोर्टिङ क्लबले सुरुवाती गोल गरेपछि आरआरवाईसी केही दबावमा आएपनि खेललाई सम्हाल्दै १–० गोलले पछाडी परेको अवस्थालाई उल्ट्याएर आरआरवाईसीले ५–१ गोलको उत्कृष्ट जीत निकालेको हो ।

आरआरवाईसीलाई जीत दिलाउनका लागि सुजन गुरुङले ह्याट्रिक गरेका छन् । म्यान अफ दि म्याच आरआरवाइसीका लागि ह्याट्रिककर्ता सुजन गुरुङ घोषित भए । आरआरवाइसीले असोज ६ गते समुहचरणको दोस्रो खेलमा रानीवन स्पोर्टस क्लब बाजुराको सामना गर्नेछ । ३ टिम रहेको समुहमा समूह विजेता टिममात्र प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्नेछ भने बाँकी २ टिम प्रतियोगिताबाट बाहिरिनेछ ।
सी डिभिजन छनोट अन्तर्गत नै असोज ५ गते आज मंगलबार हेटौंडाको एफसी विजय युथले समुह चरणको पहिलो खेलमा भ्याली इगल्स क्लब भक्तपुरसँग प्रतिस्पर्धा गर्दैछ ।

भ्याली इगल्स क्लबले आफनो समुह चरणको पहिलो खेलमा इराहिटी रानीवन बहुउद्देश्य युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गरिसकेको छ । आजको खेलमा विजय युथलाई जित्नै पर्ने दबाब छ । आजको खेलमा जीत हात पारेको खण्डमा हेटौंडेली क्लब विजय युथलाई अघिल्लो चरणको यात्राका लागि सहज हुनेछ । विजय युथले दोस्रो खेल असोज ७ गते इराहिटी रानीवनसँग खेल्नेछ । एन्फा कम्प्लेक्समा हुने यी सबै खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ । अघिल्लो वर्ष विजय युथले छनौट चरण पार्न गर्न असफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*