प्राविधिक शिक्षा व्यवस्थापनको लागि अलग विश्वविद्यालयको स्थापना गर्ने कि ?

साझाकुरा
२०७८ आश्विन ७, बिहीबार १३:१३

१. साईकल तथा मोटरसाईकलका दुई पांग्रामध्ये कुनै एक पांग्रो कमजोर वा समस्याग्रस्त भएमा उक्त साधन चल्न नसक्ने तथ्यमा कतै शंका छैन् । साधारण शिक्षा र प्राविधिक शिक्षा, एकै साईकलरुपी शिक्षाका दुई महत्वपूर्ण पांग्रा हुन् । शिक्षाको सार्थकता भन्नाले ज्ञानसंग सिप र सिपसंग ज्ञान अनिवार्य शर्तको रुपमा बुझ्ने गरिएको छ । सिप बिनाको ज्ञान र ज्ञान बिनाको सिपको अर्थ छैन भनेर विज्ञहरुले नै भन्दै आएका छन् ।

यसरि हेर्दा शिक्षा विकासमा साधारण र प्राविधिक शिक्षा विकास समान रुपमा हुनैपर्ने स्पष्ट छ । विकसित राष्ट्रहरुले शिक्षाको यो मर्मलाई गहिराईबाट आत्मसाथ गरेकै कारणले आज सफल र उदाहरणीय बने । हाम्रो सन्दर्भ भने भिन्न साबित भएको छ । करिब पैंतिस हजार विद्यालयहरुमध्ये प्राविधिक स्कूलहरुको अवस्था कस्तो छ, जगजाहेर छ । लगभग दश प्रतिशत अपेक्षित होलान् । त्यस्तै कलेजस्तरमा पनि उस्तै स्थिति भेटिन्छ ।

२. सन्दर्भलाई हालको प्राविधिक शिक्षाको भर्ना विज्ञापन संग पनि जोडिएको छ । सिटिईभिटिले चालु शैक्षिक सत्रमा भर्ना हुन प्रवेश आवेदनको सूचना प्रकाशन दुइृ पटक गरिसकेको छ । यसको पछाडि आवश्यक विद्यार्थी संख्याको अभाव नै मूल कारण देखिएको छ । यद्यपि यो कोरोना महामारीको विषम अवधि भएको तथ्य जगजाहेर छ ।

तोकिएको विद्यार्थी संख्या पूरा हुने संस्थाहरु अत्यन्त कम भएको भनिएको छ । बिगतमा प्रवेश परीक्षा लिएर प्रशिक्षार्थी छनौट गर्ने संस्थाहरु आज आवश्यक संख्या नपुगेर विज्ञापनमा उच्च लगानिका साथ जुटिरहेको भेटिन्छ । छनौट गरिएका विद्यार्थीहरुबाट नतिजा स्तरीय बन्ने सम्भावना त रहन्छ नै । संख्या बढाउने नाममा कमजोर विद्यार्थीहरु भर्ना लिनपर्ने अवस्थाका संस्थाहरुको नतिजा अपेक्षित नहुने र स्थिति झनै खस्कदैं गईरहेको सहजै देख्न सकिन्छ ।

३. ब्यवस्थित, वैज्ञानिक र ब्यवहारिक, यी तिनैवटा सुन्दर शब्दहरु मात्र नभै प्रत्येक कुरामा अर्थपूर्ण महत्व राख्दछन् । हाम्रो शिक्षा अस्तब्यस्त र दिशाहिन बन्नुमा पनि यि तिनै कुराको अभाव नै हो भन्नेमा कतै बिमति छैन । जथाभावि र हचुवामा स्कूल कलेज तथा प्राविधिक शिक्षाको अनुमति स्विकृति तथा सम्वन्धन दिएकै कारणले आज धेरै शिक्षण संस्थाहरु संकटमा परेका छन् । धेरैजसो राजनीतिक प्रेसर र आर्थिक लेनदेन अनि ब्यक्तिगत प्रभावले समेत शिक्षामा समस्या आएको तथ्यमा शंका छैन ।

यस्तै बेथिति र अनावश्यक हस्तक्षेपकै कारणले स्कूल मर्जको निति आएको हुन सक्छ । अब कलेजहरु मर्ज गर्नैपर्ने स्थिति आईसकेको छ । संगै प्राविधिक शिक्षण संस्थाहरुको अवस्था पनि नाजुक बन्दै गैरहेको स्पष्ट देख्न सकिन्छ । यी सबै शैक्षिक संकटको मूल कारण नै हचुवा शिक्षा प्रणाली हो । ब्यक्तिगत पदीय स्वार्थ र ब्यवसाय संग शिक्षा जोडियो । राजनितिक दलको प्रभाव संग शिक्षा सिमित गरियो । ब्यक्तिको धन आर्जनको भरपर्दो माध्यम शिक्षा बनाईयो । बीना लगानि वा न्यून लगानिमा ठूलो ब्यवसायको मालिक बन्ने र चाँडै धनाढ्य बन्ने साधनको रुपमा शिक्षा प्रयोग गरियो । राष्ट्रिय ढुकुटिको अधिकतम दुरुपयोग गर्दै ब्यक्ति मोटाउने काम भएकै छ । आजको शिक्षा ब्यवस्थाले यहि साबित गरिरहेको छ ।

४. सर्वप्रथम विद्यार्थी संख्याको यकिन गरि उनीहरुले पढन सिक्न चाहेको विषयहरु निर्धारण गरिनु पर्दछ । त्यस्ता विषयहरुको आवश्यकता र बजारमा मागको अवस्थाबारे ठोस विश्लेषण गरिनु अनिवार्य छ । विद्यार्थीले हासिल गरेका सिप र ज्ञानको उपयोग गर्ने मूलत पाँच क्षेत्र सहजै देख्न सकिन्छ । स्वरोजगार, वैदेशिक रोजगार, गैरसरकारी, अर्धसरकारी र सरकारी क्षेत्रमा प्रत्येक वर्ष आवश्यक जनशक्ति संख्याको क्षेत्रगत र विषयगत विश्लेषण नै हाम्रो शिक्षाको प्रारम्भिक योजना बनाउनु पर्दछ । कुन भूगोलमा कुन विषय उपयुक्त हुन्छ, सोको पर्याप्त ज्ञान शैक्षिक योजनाकारमा हुनै पर्दछ । सत्ता र पदको चाकडि हैन, यो देशको समृद्धिको लागि र बेरोजगारको अन्त्यको लागि शिक्षा योजना बन्नु बनाउनु र कार्यान्वयन गर्नुपर्दछ । योजना मात्र अभिलेखालयको लागि हैन, कार्यान्वयनको लागि हुनुपर्दछ ।

हाम्रो जस्तो विकासोन्मुख देशमा डाक्टरहरु, ईञ्जिनियरहरु, कृषि तथा वनका विज्ञहरु रोजगारीका लागि भौंतारिरहनु दुर्भाग्य मात्र नभै अभिशाप नै जस्तो बुझिन्छ । प्राविधिक विषयको त यो दुर्दशा छ भने गैर प्राविधिक विषयहरु शिक्षा, मानविकि, कानून, आदिका विद्यार्थीहरुको हालत झनै अनुमान गर्न सकिन्छ । यहाँ महाविर पुनहरुको प्रतिभाको अर्थ भएन । हवाईजहाज बनाएर उडाउने, मोटर ईञ्जिनको निर्माण गरि पोखराको सडकमा गाडि कुदाउनेहरु, तमाशे साबित भएकैे हुन् । कोरोना भाईरस विरुद्धको खोप बनाउने पनि मजाकमा उडाईए । यो क्षमता, प्रतिभा, प्रतिको दूरुत्साहन नै हो । वैज्ञानिक, खोजकर्ता, आविष्कारक, समाजशास्त्री, अर्थशास्त्री, शिक्षाशास्त्री, मानवशास्त्री आदिको अभाव हैन, वातावरण नबनेकै हो, प्रोत्साहन नभएकै हो ।

५. हाम्रो सन्दर्भमा प्राविधिक शिक्षालयको अभाव भन्न मिल्दैन । संस्थाहरु धेरै छन् । पहाडका गाउँगाउँमा र तराईका टोलटोलमा प्राविधिक शिक्षा पुगेको छ । एकै विषयका संस्थाहरु चोकचोकमा भेटिन्छ । विद्यार्थी अभावमा यी संस्था चल्न कठिन बन्दै गएको छ । सामग्रीहरुको पनि खासै समस्या छैन । भएकाको प्रयोग पनि महत्वपूर्ण पक्ष हो । समस्या विधिमा छ । जटिलता ब्यवस्थापनमा छ । सरकारी अदुरदर्शिता र दृष्टिकोण नै खोटपूर्ण भन्नै पर्दछ ।

विद्यालयमा प्राविधिक शिक्षा प्रदानको लागि तत्कालिन शिक्षा विभाग हालको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कक्षा नौ वाह्रको एउटा धार र २०४६ साल देखि विधिवत प्राविधिक शिक्षामा जोडिएको सिटिईभिटिको प्रि डिप्लोमा र डिप्लोमाका साठी भन्दा बढि विषयहरु छन् । यी दुबैको एकै संस्था मार्फत संचालन हुनुपर्दछ भन्ने आवाज पनि थाकिसकेको छ । ब्यक्तिका पदीय स्वार्थबाहेक अन्य ठोस कारण देखिंदैन । शिक्षा मन्त्रालयले नै प्राविधिक र साधारण शिक्षाका दुई विभाग बनाएर ब्यवस्थापन गर्न सक्दछ । तर, चासो र गम्भिरता त पहिलो शर्त हुनैपर्दछ ।

६. नेपालमा एक दर्जन भन्दा बढि विश्वविद्यालयहरु छन् । त्रिविविको अतिरिक्त कृषि तथा वन विश्वविद्यालयमा प्राविधिक शिक्षा अर्थात कृषि र वन संग सम्वन्धित विषयहरु अध्यापन गरिन्छ । त्यस्तै विश्वविद्यालय सरह मान्यताप्राप्त चिकित्सा विज्ञान प्रतिष्ठानहरुको संख्या करिब आधादर्जन पुगिसकेको छ । त्रिविवि,पोखरा विवि, पूर्वाञ्चल विवि कै ईञ्जिनियरिड्ड अध्ययन संस्थानहरु लाई प्राविधिक शिक्षाका उच्च तह मानिएको छ । काठमाडौं विश्वविद्यालयलाई कुनैबेला प्राविधिक विश्वविद्यालय पनि भनियो र हाल पनि सोहि कोणबाट बुझ्नेहरु कम छैनन् । सरकारी आड्डिक, सामुदायिक र निजिमा जोड्दा प्राविधिक शिक्षाका संस्थाहरु अति कम भए भन्दा हतार हुन सक्छ ।

सरकारले विद्यालय स्तरमा कक्षा नौ देखि वाह्र सम्म प्राविधिक शिक्षा प्रदानको कार्यक्रमले धेरै विद्यालयले यो स्विकृति लिएको दावी गरेको छ । हाल हरेक पालिकाको वडावडामा र टोलटोलमा प्राविधिक शिक्षा संचालन गर्ने तिव्र प्रतिस्पर्धा सहजै देख्न सकिन्छ । अर्को तर्फ, नेपालमा सिटिईभिटिले औपचारिकरुपमै प्राविधिक शिक्षाको नेतृत्व गर्दै आएको तिन दशक बितिसकेको छ । यद्यपि यो संस्थाले स्वास्थ्य विषयमा भने निजि संस्थालाई मात्र स्विकृति दिदैं आएको छ । सरकारी शिक्षण संस्थालाई स्विकृति नदिनुको कारण स्पष्ट पार्न सकेको छैन ।

७. अन्तमा, हाम्रो प्राविधिक शिक्षामा संस्थाहरु थपेर भन्दा पनि भएकाको उपयुक्त ब्यवस्थापन पहिलो र जरुरी विषय महसुस भएको छ । विद्यमान कुनै विश्वविद्यालयलाई नै प्राविधिक विश्वविद्यालय घोषण गरेर हाल संचालित सबै प्राविधिक शिक्षण संस्थाहरुलाई एकै छातामुनि संचालन र ब्यवस्थापन गर्न सकिन्छ जुन वैज्ञानिक देखिन्छ । यस अन्तर्गत कलेजहरु, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु संगै सिटिईभिटि र विद्यालयतहका प्राविधिक शिक्षण संस्थाहरु पनि ब्यवस्थापन गर्न सकिन्छ । यसैमा आड्डिक, सामुदायिक र निजि गरी तिनै प्रकारलाई समेट्न कठिन छैन । आवश्यक ब्याख्या एवम् तर्कयुक्त चर्चा र विश्लेषणको विषयवस्तु उठान सहित सम्बद्ध पक्षहरुबाट पर्याप्त बहसको अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*