चुरेहिल हस्पिटलमा ‘चुहावट’लाई अन्त्य गर्दै इज्जतको कमाइ गर्छौ

साझाकुरा
२०७८ आश्विन ८, शुक्रबार १०:५७

बागमती प्रदेशको मुकाम हेटौंडा विगतमा स्वास्थ्य क्षेत्रमा निकै कमजोर रहेको ठाउँ हो । तर, विगतको १० वर्षको तुलनामा मकवानपुरको स्वास्थ्य क्षेत्रले फड्को मारेको छ । जिल्लाबासी सामान्य उपचारकै लागि भरतपुर र काठमाडौंका अस्पताल धाउनु पर्ने बाध्यताबाट मुक्त भएका छन् । सामान्य उपचार गर्न बाहिरी जिल्ला जानु पर्ने अवस्थाबाट बिरामी गुज्रिरहेको अवस्थामा हेटौंडा–११ थानाभ¥याङमा चुरेहिल अस्पतालको जन्म भएको थियो । निजी क्षेत्रबाट सञ्चालित जिल्लाकै ठूलो चुरेहिल हस्पिटलको नेतृत्वमा हाल कृष्ण कटुवाल आइपुगेका छन् । कटुवालसँग चुरेहिलको विगतको अवस्था, नयाँ कार्ययोजनाका बारेमा साझाकुराकर्मी नवीन तिमल्सिना र प्रवेश धिताल ‘कुन्दन’ले अन्तर्वार्ता लिएका छन् ।

व्यवसायीको नेता अब हस्पिटलको पनि अध्यक्ष हुनु भयो, तपाईंले हस्पिटलाई कसरी अगाडि बढाउनु हुन्छ ?
व्यवसायीको नेता भएपनि, व्यवसाय सबै प्रकारका हुन्छन् । त्यस्तै लगानी मेरो चुरेहिलमा संस्थापन कालदेखि नै छ । विभिन्न आरोहअवरोध पार गर्दै चुरेहिल हस्पिटल यहाँसम्म आइपुगेको छ । एउटा व्यवसायीक पाटो नै हो, चुरेहिल हस्पिटल भनेको । अहिले म त्यसैको नेतृत्व गर्न पुगेको छु । हस्पिटलले सेवा र आर्थिक पाटोलाई सन्तुलन मिलाएर हिँड्नु पर्ने हुन्छ । उद्योग वाणिज्य संघको पाटो सम्पूर्ण व्यवसायीको पाटो भएपनि चुरेहिल हस्पिटल एउटा व्यवसायीक संगठन हो । त्यो संगठनमा पनि साथीहरुले तपाईंले नेतृत्व गर्नुस् भनेर भनेपछि म अध्यक्ष भएको हुँ । म अध्यक्ष भएर आएपछि हस्पिटलमा धेरै काम गर्नुपर्नेछ ।

चुरेहिलले स्थापना कालमा जस्तो गुणस्तरीय सेवा दिन नसकेको र बिरामीप्रति नकारात्मक दृष्टिकोण पैदा भएको अवस्थामा तपाईंले कसरी काम गर्नु हुन्छ ?
म अहिले नै हस्पिटललाई यस्तो बनाउँछु भन्ने अवस्थामा छैन् । हस्पिटलमा मेरो लगानी भएपनि भित्रै बसेर काम गरेको थिएन । मुख्यत हस्पिटलमा म्यानेजमेन्टमा कमजोरी देखिएकोले विगतमा अवस्था बिग्रिएको हो । अन्य कुराले हस्पिटललाई समस्या बनाएको छैन, म्यानेजमेन्ट नै राम्रोसँग नहुँदा यस्तो अवस्था उत्पन्न भएको हो । अब मेरो पढाई पनि म्यानेजमेन्ट भएकोले पनि हस्पिटललाई सही दिशामा अगाडि बढाउने योजना बनाएको छु । म जुनसुकै संस्थामा गएपनि म्यानेजमेन्ट राम्रो बनाउनु पर्छ भन्ने मेरो एउटा आधार हो ।
सोचेको अनुसार हिजोका दिनमा हस्पिटललाई राम्रोसँग सञ्चालन गर्न नसकेकै हो ।

सुरुमा चितवनका डाक्टरहरुको टोली र मेरो कुरा हुँदा हेटौंडामा सानो ल्याब राख्ने, मेडिकल राख्ने सानो योजना बोकेर आउनु भएको थियो । मैले त्यतिबेलै ल्याब मेडिकल होइन्, मकवानपुरमा एउटा ठूलो र सुविधासम्पन्न हस्पिटल बनाउनु पर्छ भनेर योजना अघि सारेअनुसार काम गरिएको थियो । जिल्लाको स्वास्थ्य क्षेत्रलाई केहीमाथि उठाउन हामीले चुरेहिल हस्पिटलको स्थापना गरेका थियौं ।

हस्पिटलमा विभिन्न बेलामा विभिन्न कमिकमजोरी भएको छ । विगतमा केही प्राविधिक, केही डाक्टरका कुराहरु विभिन्न पार्टबाट कमिकमजोरी भएको छ । चुहावटका कुराहरु पनि रहेछन्, अस्तव्यस्त छ । अहिलेसम्म न लगानीकर्ता खुशी छन्, न बिरामी, न कर्मचारी खुशी छन् । सबैजना सन्तुष्ट नहुनुमा कहीँ न कहीँ चुहावटको पाटो छ । अब चाँही सायद म गएपछि म्यानेजमेन्ट नै चुस्त दुरुस्त गरौं र यसलाई जतिपनि चुहावटहरु बन्द गरेर सबैलाई खुशी बनाउँदै इज्जतको कमाई गरौं भन्नेमा केन्द्रित हुन्छु ।

चुरेहिलले तपाईंको नेतृत्वमा जिल्लाबासीलाई उपचारकै लागि बाहिर जानुपर्ने बाध्यताबाट हटाउन कस्तो योजना ल्याउँछ ?
हामी अवश्य नयाँ योजना अनुसार अगाडि बढ्छौं नै । विगतका दिनमा चुरेहिलबाट पनि केही हुँदै नभएको हैन् । हेटौंडामा डायलासिसिको सुविधा थिएन्, चुरेहिलले आरोग्य फाण्डेशनसँग मिलेर डायलासिस मेसिन ल्याएर सेवा दिएका थियौं । चुरेहिल खोल्ने बेलामा यहाँ सिटीस्क्यान थिएन, राम्रो ल्याब थिएन्, अप्रेशन गर्ने थिएटर र आइसियु पनि थिएन् । हेटौंडामा एसीसहितको क्याबिनवाला कोठा पनि थिएन् । केही न केही आयाम त चुरेहिलले ल्याएको छ ।

कोरोना महामारीमा अधिकांश बिरामी जिल्लाबाहिर जानु परेको छैन् । हेटौंडा अस्पताल र चुरेहिल हस्पिटलले कोरोना महामारीमा धेरै मिहेनतका साथ काम गरेको छ । पछिल्लो समय हेटौंडा अस्पतालमा पनि निकै राम्रो भइरहेको छ । मुख्यमन्त्री हेटौंडाकै हुनु र प्रमुख प्रतिपक्ष दलका नेता पनि हेटौंडाकै हुनुले पनि जिल्लाको स्वास्थ्य क्षेत्र माथि उठेको छ । यसतर्फ चुरेहिल खुशी नै छ ।
हेटौंडामा अब नयाँ–नयाँ हस्पिटल खुल्दैछन्, बिरामीको उपचारमा गुणस्तरपनि बढ्दै छ । उपचारमा प्रतिस्पर्धा हुँदैछ । यो सबै गराउन चुरेहिलको कतै न कतै भूमिका रहि आएको छ । हेटौंडामा पनि डाक्टरलाई टिकाउन सकिँदैन् थियो, अहिले डाक्टरहरु यहाँ आएर काम गर्न रुचाउने अवस्था बनेको छ । हेटौंडाको स्वास्थ्य क्षेत्रमाथि उठाउन पुगेको छैन्, चुरेहिलले जिल्लाबासीको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै सेवा प्रवाह गर्नेछ । सबै खाले बिरामीलाई भरतपुर, काठमाडौं उपचारकै लापग जानुपर्ने अवस्था अब हामी आउन दिँदैनौं ।
एकतिर व्यवसायीको नेता, अर्कोतिर हस्पिटलको अध्यक्ष, दुवै तिर नेतृत्व गरिरहँदा एकतिर असर पर्ला नी, यसले व्यवसायी र बिरामीको समग्र क्षेत्रमा असर पार्दैन ?

यता उद्योग वाणिज्य संघको अध्यक्ष पनि लिन्छु भन्नी, अझ भयो भने दुईचारवटा क्लबको अध्यक्ष पनि खान्छु भन्नी, पार्टीको कुनै नेतृत्व पाए लिन्छु भन्ने अनि हस्पिटलको पनि अध्यक्ष पनि बन्दा सबैतिर जाँदा कहीँ न कतै समस्या आउँछ नै । त्यो भोलीको दिनमा समस्या हुनसक्छ । पद ओगट्ने काम नगर्ने प्रचलनको हिसाबमा भोली गालीगलोज आउन पनि सक्छ । त्यो पत्रकारहरुले सचेत गराइरहनु भएकै
छ । चुरेहिलको अध्यक्ष बन्दा मैले सोचेरै नेतृत्वको जिम्मेवारी लिएको हुँ ।

केही समयपछि उद्योग वाणिज्य संघको अधिवेशन आउँदैछ । म अब संघमा नउठ्ने भएरै स्वास्थ्य क्षेत्रमा लागेको हुँ । संघमा एकपटक अध्यक्ष भएपछि फेरि अध्यक्ष भएर अरु साथीहरुलाई पालो नदिई कुर्सी ओगटेर बस्न हुँदैन् भन्ने सोचले नै म चुरेहिलको अध्यक्ष भएको हुँ । करिब एक महिनापछि मउवा संघको नेतृत्वबाट बाहिरिने छु । त्यसपछि चुरेहिलको विकासमा र बिरामीको उपचारमा नै म केन्द्रित हुनेछु । सँगसँगै व्यवसायीको हकहित र व्यवसायीक सुरक्षाका निम्ति म निरन्तर लडिरहन्छु नै । सबैतिर लागिरहन्छु, तर एकैपटक धेरै संस्थामा पद ओगटेर बस्ने मेरो स्वभाव पनि छैन् ।

मेरो पूर्ण समय चुरेहिलमा रहन्छ । चुरेहिलमा लगानीकर्ताको सुरक्षा, संस्थाको मुनाफा, त्याहाँ रहेका कर्मचारीको सुरक्षको निम्ति म लाग्छु । हस्पिटल अहिले डुब्दा खेरी करिब १ सय ५० जनाको रोजगारी गुम्छ । डेढसय परिवार हस्पिटलकै कारण बाँचेका कारण उनीहरुको सुरक्षा र जिल्लाबासीको स्वास्थ्य सेवाका निम्ति पनि मेरो सबै समय हस्पिटलमा खर्चिने छु । मउवा संघबाट सिकेका राम्रा कुरा उता प्रयोग गर्छु, जनताको स्वास्थ्य सेवालाई गुणस्तर बनाउन खटिने छु ।
हेटौंडाको सडक विस्तारको फेरि चर्चा सुरु भएको छ, तपाईले मउवा संघको नेतृत्व छोड्दा सडक विस्तार हुँदा कस्तो भूमिका खेल्नु हुन्छ ?
सडक विस्तारका विषयमा हेटौंडाका मेयर साहेबको कुरा आएको छ । उहाँले के हिसाब र कति सोचेर २५ मिटर सडक विस्तार गर्छु भन्नु भयो, त्यो उहाँको कुरा हो । उहाँको विषयमा म टिप्पणी गर्दिन् । सडक डिभिजनले एक महिनाभित्र सडक भत्काउने भनेर सूचना गरेको समाचार आइरहेको छ । अब दशैं आउँदै छ, दशैंको मुखमा हेटौंडामा डोजर ल्याउने भनिएको छ, त्यो कति स्वभाविक होला । दशैंमा डोजर चलाएर रगताम्य बनाउन खोजिएको हो की । कति कुरा भन्न सजिलो छ, गर्न सहज हुँदैन् ।
उपमहानगरपालिका पनि किन यत्रो वर्षसम्म सडक विस्तारको विषयमा चुपचाप थियो । अब चुनाव आउन लाग्दा किन डोजर चलाउने भनेर भन्न जरुरी थियो । उपमहानगरपालिकाकाले हकअधिकार र कार्यक्षेत्रभित्र सडक विस्तार कार्य पर्छ की पर्दैन । यो संघीय सरकारको अधिनमा रहेको हाइवे हो । यो अन्य कुनै सरकारले भनेर हुँदैन् ।
यहाँ संघीय सरकारले चाहेमात्र सडक विस्तार हुने हो । संघीय सरकारले विस्तार गर्न खोजेपनि सर्वोच्च अदालतको स्टे अडरको पाटोहरु पनि हामीसँग छन् । उपमहानगरपालिकासँग करिब दुई ५० जनाले कागज गरेर पछिल्लो चरणमा बनाएका घरहरु रहेछन् । तर, यहाँ त १ हजार ७ सय ७४ घरधुरी छन् । दुई सय ५० घरधुरीले मेयर साहेबसँग कागज गरेको रहेछ तर, एक हजार ५ सय चानचुनले त कागज गरेका
छैनन् नी । दुई सय ५० घरधुरी भत्काएर बजार क्लियर हुने हो र ? मेरै घर उहाँले भत्काउन सक्नु हुन्न, म सँग अदालतको स्टेअडर छ ।
सडक विस्तारलाई मुडेबल जस्तो पेल्छु भन्दा बरु सल्लाह गरेर बजारको भिड कसरी कम गर्न सकिन्छ, बजारको ट्राफिक कसरी सन्तुलनमा राख्न सकिन्छ। हामीलाई चाहिएको बाटो की मान्छेको बिनाश, त्यता ध्यान दिन जरुरी छ । बाटोको विकल्प दिइरहेका छौं । बजारबाट हाइवे क्लियर हुनका लागि बाटो चाहिएको हो ।
चौकीटोलदेखि कुष्माण्ड सरोबरसम्म बाटो बनाउन भनिरहेकै छौं । यहाँ अरुको घर भत्काउनै पर्छ भन्ने हो भने, भन्दा हुन्छ । नत्र, घर नभत्काई विकल्प लगाएर बजारलाई ठूलो बनाउन सकिन्छ । बजारलाई २५÷२५ मिटर हैन १६÷१६ मिटर विस्तार गरौं भनिरहेकै छौं ।

यसमा तपाइको मत

Your email address will not be published.


*