महाधिवेशनमा फाटेर हैन, जुटेर लागौंः डिना

साझाकुरा
२०७८ आश्विन ८, शुक्रबार ११:१५

हेटौंडा/नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसको १४ औं महाधिवेशनमा फुटेर नभइ, जुटेर अघि बढ्न आग्रह गरेकी छन् । कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा बिहीबार आयोजित निर्वाचित वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ डीनाले आगामी महाधिवेशनले कांग्रेसलाई थप सशक्त र परिमार्जित बनाउने दाबी गरिन् । उनले १४ औं महाधिवेशन स्वच्छताको महाधिवेशन भएको बताइन् ।

 

‘विगत तीन बर्षको अवधिमा नेपाली जनताले कम्युनिष्टहरुलाई राम्रोसँग चिन्ने अवसर पाएका छन् ।’ उनले भनिन्, कार्यक्रममा कांग्रेस मकवानपुर सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस अहिले जनताको विश्वास र भरोसालाई यथार्थमा परिणत गर्न लागि परेको बताए । उनले नेपाली कांग्रेस महाधिवेशनमा रहेको स्मरण गराउँदै महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु कांग्रेका हरेक क्रियाशिल सदस्यको जिम्मेवारी भएकोले उक्त जिम्मेवारी पुरा गर्न अनुरोध गरे ।

उपमहानगर सभापति आनन्दराम पराजुलीले कांग्रेसको खोल ओढेर कांग्रेसकै उम्मेदावरलाई विगतको चुनावमा धोका दिनेलाई चिन्ने बेला आइसकेको कार्यकर्तालाई सुझाव दिए । उनले १४ औं महाधिवेशनको समयमा कस्ता व्यक्तिलाई पार्टीको नेतृत्व दिने भन्नेबारे निक्र्यौल गर्नुपर्ने दाबी गर्दै हाम्रालाई हैन, राम्रालाई छान्न आग्रह गरे ।कार्यक्रममा संघीय सभापतिद्वय यतिराज सापकोटा, दामोदर खनाल, क्षेत्रीय सभापतिद्वय तारानाथ चौलागाईं, लोक मोक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति बिष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, सहसचिव रामबाबु बानियाँ, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोइराला जिल्ला सदस्य, सल्लाहकार तथा भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*