अल्पमतको सरकारले विश्वासको मत पाउने दाबी

साझाकुरा
२०७८ आश्विन १३, बुधबार ११:२१

हेटौंडा÷नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशमा दलको मान्यता पाएसँगै अष्ट लक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा छ ।
२ भदौमा शाक्यको नेतृत्वमा गठन भएको सरकार १३ दिनमै अल्पमतमा परेको थियो । नेकपा एमाले छाडेर १३ जना सांसदले नेकपा (एस) रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन् । अहिले बागमतीमा एमालेसँग ४३ जना सांसद छन् ।

बागमतीमा १ सय ९ सांसद छन् । सरकार गठनका लागि बहुमत ५५ सांसदको समर्थन आवश्यक छ । एमाले अल्पमतमा परेपछि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एस) बहुमत जुटाएर गठबन्धनको सरकार गठनमा जुटेका छन् । संसदमा २७ भदौमा नेकपा (एस)ले दल विभाजनको आधिकारिक पत्र पाएपछि गठबन्धनको सरकारका लागि कसरत सुरु भएको हो ।

एमालेले पनि विश्वासको मत लिएर सरकार जोगाउने कसरत गरिरहेको छ । ४३ सांसदमा सीमित रहेपनि बहुमत पु¥याएर विश्वासको मत लिने एमालेका मुख्य सचेतक दीपक निरौलाको दाबी छ । ‘संसदीय प्रक्रिया अनुसार ३० दिनभित्र विश्वासको मत लिन हामी जान्छौं । सरकारले संसद आव्हान गर्न सिफारिस गर्छ । विश्वासको मत पाइन्छ । दसैंअघि नै संघीय सरकारको गठबन्धन टुट्छ त्यसकारण बागमतीमा विश्वासको मत प्राप्त हुन्छ ।’

भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले विश्वासको मत लिन २७ असोज अघिनै संसद बोलाउन सिफारिस गर्ने बताए । उनले संसदमै अल्पमत र बहुमत साबित हुने प्रतिक्रिया दिए । ‘हामीले विश्वासको मत पाउँछौं । अविश्वासको प्रस्ताव दर्ता भएको छैन, त्यसकारण को अल्पमत, को बहुमतमा छ, हो त्यो पुष्टि हुँदैन । संसदबाट यो टुंगो लगाउने हो ।’

संघीय र अन्य प्रदेश सरकार निर्माणको आधारमा बागमतीमा पनि तीन दलको गठबन्धनमा सरकार निर्माण हुने निश्चित छ । १ सय ९ सांसद रहेको बागमतीमा सरकार गठनका लागिबहुमत पु¥याउने ५५ मत आवश्यक पर्नेछ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनमा सरकार निर्माण हुँदा सरकारलाई ५८ सांसदको समर्थन हुनेछ । बर्तमान स्थितमा माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२ र नेकपा (एस)सँग १३ सांसद छन् । यो सरकार गठनका लागि गठबन्धनमा पूर्ण बहुमत हो ।

यता संसदको ठूलो दल नेकपा एमाले अब ४३ सांसदमा सीमित भइसकेको छ । एमालेले सानादलहरु विवेकशील साझा ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र १ सांसदको समर्थन लिएर सरकार जोगाउने प्रयत्न गरेपनि ५१ मत मात्र पुग्नेछ । जुन सरकार टिकाउन ४ मत कम हुने अवस्था हो । त्यस कारण एमालेले सरकार जोगाउने अवस्था न्यून हुँदाहुँदै विवेकशील साझाले समर्थन गर्न नसक्ने प्रष्ट पारिसकेको अवस्थामा एमालेका लागि ७ मत अपूग हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*