गणेश थापाको खुशी दुई दिनपनि टिकेन्, मेयर महतले गरे सम्झौता रद्द

साझाकुरा
२०७८ आश्विन १४, बिहीबार १८:१२

हेटौंडा–हेटौंडामा फुटबल एकेडेमी खोल्नका लागि उपमहानगरपालिकाबाट २५ लाख फुत्काउन लागेका गणेश थापाको खुशीमा ब्रेक लागेको छ । एकेडेमी सञ्चालनका लागि दुई दिनअघि २५ लाख रुपैयाँ लिने उपमहानगरसँगको सम्झौता नगर प्रमुख महतले आज बिहीवार रद्द गरेका छन् ।

फुटबलको सर्वोच्च निकाय फिफाबाट भ्रष्टाचार अभियोगमा १० वर्ष फुटबलका सबै खाले गतिविधिबाट प्रतिबन्ध खेपिरहेका थापासँग एकेडेमी खोल्न उपमहानगरले सम्झौता गरेको भन्दै आलोचना भएपछि नगर प्रमुख महतले एकल निर्णयबाट सम्झौता रद्द गरेका छन् । दुई दिनमै सम्झौता रद्द भएपछि गणेश थापाको खुशीमा ब्रेक लागेको हो ।

थापाले सुटुक्क सम्झौता गरेर आफ्नो आधिकारीक फेसबुक आइडीबाट नगर प्रमुख महत, उनलाई साथ दिने वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंलाई धन्यवाद दिएका थिए । उनले फेसबुकमा एकेडेमीका विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिने पनि बताएका थिए ।

गत असोज १२ मा गणेश थापा अध्यक्ष रहेको काठमाडौंको नेपाल खेलकुद संस्था (नेपाल स्पोर्टस् अर्गनाइजेसन) उपमहानगरले सम्झौता गरेको थियो ।

‘२०७८ साल असोज १२ गते भएको फुटबल एकेडेमी तथा खेलाडी प्रशिक्षण सञ्चालन सम्बन्धी सम्झौता विशेष कारणवस नगर कार्यपालिकाको कार्यालयको मिति २०७८–०६–१४ गतेको निर्णय (नगर प्रमुखस्तर) बाट रद्द गरिएको’ उपमहानगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*