प्रदेश प्रमुख शर्मा डिस्चार्ज
हेटौंडा÷बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा उपचारपछि डिस्चार्ज भएका छन् । मुटु सम्बन्धि समस्याबाट ग्रसित भएपछि गत असोज ४ गतेबाट उपचाररत् प्रदेश प्रमुख शर्मा गत १४ गते बेलुका डिस्चार्ज भएका हुन् । विगत ७ वर्षदेखि मुटु सम्बन्धि समस्याबाट ग्रसित शर्मालाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । प्रदेश प्रमुख शर्माको स्वकीय उपसचिव पारशमणि फुयाँलका अनुुसार प्रमुख शर्माको शहिद गंगालाल हृदयरोग केन्द्र, उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल र मनमोहन कार्डियो– थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भएको हो ।
प्रदेश प्रमुख शर्मा सफल उपचारपछि अहिले आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहेका छन् । ‘उपचारपछि पूर्ण रुपमा घरमै स्वास्थ्य लाभ गरिरहेको छु ।’ प्रदेश प्रमुख शर्माले भने, ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’ शर्माले आफ्नो उपचारका लागि भूमिका खेलेका तीन वटै अस्पतालका मेडिकल टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।
यस्तै, शर्माले आफू अस्वस्थ्य भई अस्पतालमा उपचाररत रहेका बेला स्वास्थ्य लाभका लागि कामना गर्ने अग्रज,शुभेच्छुक तथा शुभचिन्तकप्रति आभार व्यक्त गरे । ‘मेरो उपचारका लागि खटिएर लागिपर्ने मेडिकल टिम,मेरो स्वास्थ्यप्रति चासो राख्दै स्वास्थ्य लाभको कामना गर्नु हुने मेरा अग्रज व्यक्तित्व, शुभेच्छुक तथा शुभचिन्तक सबैप्रति कृतज्ञता व्यक्त गर्दछु ।’ शर्माले भने । उनी आगामी मंगलबार नियमित फलोअपपछि नियमित कार्यमा फर्कनुहुने स्वकीय उपसचिव फुयाँलले जानकारी दिए ।