कांग्रेस हेटौंडा उपमहानगरले संगठन सुदृढीकरण चलाउने

साझाकुरा
२०७८ आश्विन २०, बुधबार ११:१८

हेटौंडा/कांग्रेसको हेटौंडा उपमहानगर समितिले संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । मंगलबार बसेको नगर समिति बैठकले आगामी पुस मसान्तभित्र उपमहानगरको १९ वटै वडामा भातृ संगठन गठन तथा पुर्नगठन गरिसक्ने निर्णय गरेको छ । तरुण, महिला, किसान, जनजाति, दलित संघसहित विभिन्न भ्रातृ संगठनलाई गठन तथा पुर्नगठन गर्ने अभियान चलाउने निर्णय गरेको हो ।

यस्तै बैठकले उपमहा– नगरपालिकाको अधिवेशनमा निर्वाचन गराउन खटिएका अधिकृत तथा मतदातालाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको नगर सचिव सविन न्यौपानेले जानकारी दिए । बैठकमा नजिकिँदै गरेको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान समेत भएको थियो । कांग्रेस उपमहानगर सभापति उत्सव इटेनीको अध्यक्षतामा भएको बैठकमा कार्यबाहक जिल्ला सभापति बिष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि लामिछानेले कांग्रेसको अधिवेशनको क्रममा भएको आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर अब एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा राखे । स्थानीय तहको निर्वाचन नजिकिँदै गएकोले गुट उपगुटलाई त्याग्दै आन्तरिक प्रतिस्पर्धाको बिषयलाई बिर्सेर अघि बढ्नु आवश्यक रहेको बताए । यस्तै निवर्तमान नगर सभापति आनन्दराम पराजुलीले कांग्रेसलाई मकवानपुरमा जिताउने गरी सबै नेता कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्ने धारणा राखे । आन्तरिक प्रतिस्पर्धाको बिषयलाई लिएर पार्टीलाई घात गर्ने छुट कसैलाई पनि नभएको उनको भनाइ थियो । बैठकपश्चात हेटौंडा ११ का कृष्णप्रसाद पुडासैनीले नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*