सर्वाधिक गोलको कीर्तिमान तोड्ने मकवानपुरे स्टार अन्जनको चाहना

साझाकुरा
२०७८ आश्विन २०, बुधबार ११:२९

हेटौंडा/नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड, मकवानपुरे स्टार अन्जन बिष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्ने चाहना रहेको बताएका छन् ।
माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिपमा सोमबार राति श्रीलंकालाई ३–२ ले पराजित गर्दा गोल गरेका अन्जनले खेलपछि यस्तो चाहना व्यक्त गरेका हुन् । नेपालको जितमा अन्जनसँगै सुमन लामा र आयुष घलानले पनि गोल गरे । श्रीलंका विरुद्धको गोल अन्जनको राष्ट्रिय टिमको लागि छैटौं गोल हो, भने सुमन र आयुषको डेब्यु गोल हो ।

नेपालका लागि हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक १३ गोल गरेको कीर्तिमान छ । तर लामो समयसम्म पनि यो कीर्तिमान तोडिन सकेको छैन । पछिल्लो पटक नेपालका लागि लगातार गोल गर्दै आएका अन्जनलाई श्रीलंकाविरुद्ध गोल गर्दै म्यान अफ द म्याच बनेपछि सर्वाधिक गोल गर्ने चाहना रहेको बताएका हुन् । ‘रेकर्ड तोड्ने चाहना भइहाल्छ । १३ गोलमा अड्किराछ,’ अन्जनले पोष्टम्याच कन्फ्रेन्समा भने, ‘मुख्य कुरा नेपालमा फरवार्डले मात्र गोल हान्नुपर्छ भन्ने छ तर फरवार्डले मात्र होइन सबैले गोल हान्छ । अहिले मिडफिल्डरले पनि गोल हानेको छ । मेरो पनि चाहना छ १३ गोलको त्यो रेकर्ड तोड्ने । त्यसका लागि म अझै मिहिनेत गर्नेछु ।’

सन् २०१४ मा फिलिपिन्स विरुद्ध खेल्दै नेपालका लागि डेब्यु गरेका अन्जनले पहिलो राष्ट्रिय गोल गर्न पाँच वर्ष कुर्नुपरेको थियो । विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध सन् २०१९ मा उनले एकै खेलमा २ गोल गरेका थिए । यस्तै उनले २०२१ मा मात्रै ४ गोल गरिसकेका छन् । गत मेमा इराक विरुद्ध मैत्रीपूर्ण खेलमा गोल गरेका अन्जनले जुनमा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध गोल गरेका थिए । त्यसपछि उनले सेप्टेम्बरमा दशरथ रंगशालामा भएको भारत विरुद्ध मैत्रीपूर्ण खेलमा गोल गरेका थिए ।

केही समयअघिसम्म पनि नेपाल अन्तर्राष्ट्रिय खेलमा गोलकै लागि चुकिरहेको हुन्थ्यो । प्रशिक्षक अलमुताइरीको आगमनपछि भने अन्जनले भने जस्तै नेपालका अन्य खेलाडीहरुले पनि गोल गर्न थालिरहेका छन् । २३ वर्षीय अन्जनले पनि अलमुताइरीकै प्रशिक्षणमा ४ गोल गरिसके । प्रशिक्षकले देखाएको विश्वासप्रति उनले आभार पनि व्यक्त गरे । यस्तै उनले प्रशिक्षक र समर्थकलाई धन्यवाद दिए । ‘मलाई विश्वास गर्नु भएकोमा प्रशिक्षकलाई धन्यवाद । सबै नेपाली समर्थकहरुलाई समेत धेरै धन्यवाद,’ अन्जनले थपे । अन्जनले सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न अझै ७ गोल गर्नुपर्नेछ । त्यसका लागि उनले अझ मिहिनेत गर्ने प्रष्ट पारिसकेका छन् । भर्खर २३ वर्ष मात्र भएकाले अन्जनमा त्यो सम्भावना पनि छ । साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो तेस्रो खेल छिमेकी भारतसँग असोज २४ गते खेल्दैछ ।
पाँच वर्षको प्रतिक्षा
सन् २०१४ अक्टोबर १४ मा नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यू गर्दा अञ्जन १६ वर्षका थिए। कतारको राजधानी दोहामा फिलिपिन्सविरूद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमको जर्सी लगाएर पहिलो पटक मैदान छिर्दा अञ्जनले अनुभवी डिफेन्डर सन्दीप राईलाई प्रतिस्थापन गरेका थिए । क्लब फुटबलमा चलेका मिडफिल्डरमा पर्ने अञ्जनको लागि राष्ट्रिय टिममा स्थान पक्का हुने गरे पनि पहिलो रोजाइ पर्न संघर्ष गरिरहनु परेको थियो । विश्वकप २०२२ तथा एसिया कप २०२३ छनोटअन्तर्गत दुई वर्षअघि कुवेतसँगको पहिलो खेलमा पनि अञ्जनले सब्सिच्युट खेलाडीको रूपमा मात्र मौका पाए । कुवेत सिटीमा भएको खेलमा विमल घर्तीमगरको स्थानमा ८२ मिनेटमा अञ्जन मैदान छिर्दा नेपालले ५ गोल खाइसकेको थियो । त्यसपछि नेपालले थप २ गोल खादा ७–० को पीडादायी हार खेप्न बाध्य भयो ।

कुवेतसँग ७ गोल खाएको पाँच दिनपछि नेपालले छनोटको दोस्रो खेलमा चाइनिज ताइपेईविरूद्ध उसैको मैदानमा खेल्नु चुनौतीपूर्ण थियो । अघिल्लो हारको पीडा भुलाउन नेपालका लागि जितको विकल्प थिएन । त्यसैले खेलका लागि तत्कालीन प्रशिक्षक योहान कालिनले महत्वपूर्ण परिवर्तनको रूपमा मिडफिल्डर बिक्रम लामाको स्थानमा अञ्जनलाई पहिलो रोजाइमा मौका दिए । घाइते भएका अजित भण्डारीको स्थानमा दिनेश राजवंशी र सुमन अर्यालको सट्टा रञ्जित धिमाललाई अवसर दिइएको थियो ।

तीन परिवर्तनमा अञ्जन प्रभावकारी साबित भए । उनले टिमका लागि चौथो मिनेटमै गोल गर्न सफल भए । त्यो गोल नेपालले एक वर्षको अवधिमा गरेको दोस्रो गोल थियो । त्यसअघि २०१८ जुनमा चाइनिज ताइपेईविरूद्ध नै अभिषेक रिजालले मात्र नेपालका लागि एक वर्षको अवधिमा गोल गर्न सकेका थिए । अञ्जनले डेब्यू गरेको पाँच वर्षपछि पहिलो अन्तर्राष्ट्रिय गोल गरे। ताइपेईविरूद्ध अञ्जनले ६४ मिनेटमा दोस्रो गोल गरे। डिबक्स भित्रबाट उनले गरेको गोल आकर्षक थियो ।  अन्तत ः नेपालले सन् २०११ पछि विश्वकप छनोटमा पहिलो जित हात पार्न सफल भयो । नेपालले एक वर्षको अवधिमा हात पारेको त्यो पहिलो जित हो । साफ च्याम्पियनसिपअन्तर्गत २०१८ को सेप्टेम्बर ८ मा बंगलादेशलाई २–० ले हराएर सेमिफाइनल पुगेपछि नेपाल लगातार ९ खेल जितविहीन बनेको थियो । (अनलाइन खबरको सहयोगमा)

यसमा तपाइको मत

Your email address will not be published.


*