पाण्डेलाई माओवादीको साथ

साझाकुरा
२०७८ आश्विन २२, शुक्रबार १२:५४

हेटौंडा/बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य करिब दुई महिना सरकार चलाएर बिदा हुँदैछिन् । प्रदेश राजनीतिमा कुनै ठूलो उथलपुथल नभए शाक्यले सरकार छाड्नु पर्ने निश्चित छ ।
पार्टी विभाजनसँगै अल्पमतमा परेकी शाक्यसँग ४३ मत मात्रै छ । सरकार बनाउन ५५ मत आवश्यक पर्ने भएपनि शाक्यलाई साना दलको समर्थनले सरकार जोगाउन असम्भव छ । यसकारण बागमती प्रदेशले असोज अन्तिम साता नयाँ मुख्यमन्त्री पाउने छ । मुख्यमन्त्री शाक्यले अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । शाक्यले राजीनामा नदिएर विश्वासको मत लिने भएकी छन् ।

विश्वासको मत लिन २४ असोजमा प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गर्ने निर्णय गरिसकेको छ । शाक्यले विश्वासको मत नपाउने विपक्षी दलका नेताहरुको दावी छ । प्रदेशसभामा एकसय ९ सांसद छन् ।  जसमध्ये सरकार मनाउन पुग्ने मत गठबन्धनका नेकपा माओवादी केन्द्र, कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सँग ५८ मत छ । शाक्यलााई सरकार टिकाउन अझै १२ मत आवश्यक छ । उनलाई समर्थन गर्न सक्ने राप्रपा र नेपाल मजदुर किसान पार्टीको २÷२ गरी कुल ४ मतले पनि शाक्यलाई सरकारमा टिकाउँदैन् ।

विश्वासको मत नपाएपछि शाक्य स्वतः सरकारबाट हट्ने छिन् । यसकारण पनि अब बागमतीमा गठबन्धन सरकार बन्ने निश्चित छ । तर, बागमतीमा सरकारको नेतृत्व कस्ले गर्छ भन्नेमा गठबन्धन भित्रै अन्यौलता रहेको नेताहरुको भनाइ छ । मुख्यमन्त्री बन्ने चर्चामा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे छन् । पाण्डेलाई चुनौती नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले दिएका छन् । करिब २ महिना भएपनि सरकारको नेतृत्व गर्नपाउनु पर्ने दाबी सहित पार्टी सभापति शेरबहादुर देउवालाई दबाब बढाएका बानियाँलाई भने नेकपा माओवादी केन्द्रले समर्थन नगर्ने माओवादी सांसदहरुले बताएका छन् ।

नयाँ सरकार गठनका लागि गठबन्धनबीच रस्साकस्सी चलिरहेको छ । बानियाँले मुख्यमन्त्री बन्न गरेको प्रस्तावमाथि कांग्रेसभित्रै चर्को विरोध भइरहेको छ। पार्टी महाधिवेशनका बेला बानियाँले मुख्यमन्त्रीदावी गरेको भन्दै कांग्रेस नेता डा. शेखर कोइरालाले केही दिनअघि सार्वजनिक रुपमै आपत्ति जनाइसकेका छन् । आफ्नै पार्टीभित्रै विरोध भएपछि मुख्यमन्त्री बन्ने झिनो सम्भावना बोकेका बानियाँलाई बागमतीको प्रमुख प्रतिपक्षदल नेकपा माओवादी केन्द्रले पनि साथ नदिने संकेत गरेको हो ।

माओवादी केन्द्रले नेकपा एसका नेता पाण्डेलाई मुख्यमन्त्री बनाउन साथ दिने भएको छ । माओवादीका एक प्रदेश सांसदले दिएको जानकारी अनुसार बानियाँलाई समर्थन नगर्ने र पाण्डेलाई मुख्यमन्त्री बनाउन साथ दिने आन्तरिक सहमती भएको छ । उनले बानियाँले मुख्यमन्त्रीमा दाबी गरिरहे माओवादी केन्द्रले पनि सरकारको नेतृत्वका लागि दबाब दिने बताए । ‘हाम्रो पार्टीले पाण्डेलाई समर्थन गर्छ।’ नाम उल्लेख नगर्ने सर्तमा ती सांसद भन्छन्, ‘कांग्रेसले मुख्यमन्त्रीमा दावी ग¥यो भने माओवादीले पनि छोड्दैन् । गठबन्धनमै बागमती नेकपा (एस)लाई दिने भन्ने सहमती भएको छ । हामी पाण्डेलाई नै समर्थन गरेर जाने कुरामा सहमत छौं ।,’

नेकपा (एस) बागमती प्रदेशकी प्रमुख सचेतक मुनु सिग्देलले प्रदेश सरकार राजेन्द्र पाण्डेको नेतृत्वमा गठन हुने बताइन् । कांग्रेसले दावी गरेपनि गठबन्धनको भागबण्डामा नेकपा (एस)ले बागमतीको सरकार लिने सहमती भएकाले पाण्डे नै मुख्यमन्त्री हुने उनको भनाई छ । माओवादी केन्द्रले भने बागमतीमा मुख्यमन्त्रीका लागि दावी गरेको छैन् । अन्य प्रदेशमा माओवादी नेतृत्वका सरकार रहेकाले बागमतीमा दावी नगर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*